Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


बिरामीबाट अस्पतालले उठाएको १८ करोड बैंक खाताबाटै गायब


26
Shares

काठमाडौं । सर्वसाधारणको उपचारबापत त्रिवि शिक्षण अस्पताल महाराजगन्जले उठाएको १८ करोड रुपैयाँ बैंकबाटै गायब भएको छ ।

अस्पतालको बैंक मौज्दातमा १८ करोड नभेटिएको भन्दै महालेखाले प्रश्न उठाएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन सुरु गरेको छ  ।

शिक्षण अस्पतालले तीन वर्षसम्म लेखापरीक्षण गराएको थिएन । आर्थिक वर्ष ०७३/७४ देखि ०७५र७६ सम्मको शिक्षण अस्पतालको लेखापरीक्षण एकैपटक भएको थियो ।

अस्पतालले विभिन्न बैंकका खातामा रहेको भनेको १७ करोड ९४ लाख ५८ हजार बैंकमा नभेटिएको महालेखाको ५७औँ प्रतिवेदनमा उल्लेख छ ।

तीन–तीन वर्षसम्म लेखापरीक्षण नगरिएकाले पनि रकम हिनामिना भएको हुन सक्ने आशंका त्रिभुवन विश्वविद्यालयका अधिकारीहरूको छ ।

अस्पतालको अभिलेखमा हिमालय बैंकलगायतका बैंकहरूमा ९८ करोड २७ लाख ७५ हजार मौज्दात रहेको उल्लेख भए पनि महालेखाले ८१ करोड ८३ लाख ६७ हजार मात्रै फेलापारेको छ, १६ करोड ४४ लाख आठ हजार गायब छ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडमा रहेका पाँचवटा खाता, नबिल बैंक लिमिटेड र हिमालय बैंकमा रहेका एक–एक खातामा पनि अस्पतालले भनेअनुसार रकम मौज्दात नभेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालको स्रेस्ताअनुसार एक करोड ६२ लाख २० हजार बैंक मौज्दात हुनुपर्नेमा ११ लाख ७० हजार मात्र छ । एक करोड ५० लाख ५० हजार गायब छ ।

अस्पतालको १८ करोड गायब भएको विषयमा त्रिभुवन विश्वविद्यालयका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् । -नयाँ पत्रिका दैनिकबाट