काठमाडौं, जेठ ३० । नेपाली कांग्रेसले एकमहिने राष्ट्रिय जागरण अभियानपछि पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण देखिएको निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जागरण अभियानबारे समीक्षा गर्न बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले अभियानले जनताको आँखा खोल्दै कांग्रेसलाई बलियो र एकताबद्ध बनाएको बताए ।
उनले कम्युनिस्ट सरकारको गलत रबैया जनतामाझ पुर्याएर अभियानले उनीहरुलाई सचेत बनाएको पनि बताए ।
प्रवक्ता शर्माले पार्टीभित्र गुट र उपगुट नभइ विचार र सिद्धान्तको प्रतिस्पर्धा हुने भन्दै कमजोरी सच्याउँदै सुझावलाई पार्टीले आत्मसाथ गर्दै जाने प्रस्ट पारे ।
उनले जागरण अभियानपछि कांग्रेस नयाँ ढंगले जनताका मुद्दामा केन्द्रित भएर अगाडि बढ्ने पनि बताए ।
शर्माले जागरण अभियानकाक्रममा जिल्ला, क्षेत्र, गाउँ, नगर र वडास्तरमा गरी दुई हजार कार्यक्रम सम्पन्न भएको र ३१ हजार ६४२ जना नेकपालगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको जानकारी दिए ।
दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीका भ्रातृसंगठनहरु गठन विस्तार गरिने उनले उल्लेख गरे ।
जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन आउने र तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गरिने कांग्रेसले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्