काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो सर्वेक्षणअनुसार कोरोना संक्रमण सुरु भएयता निजी क्षेत्रतर्फ २२.५ प्रतिशत कर्मचारी कटौतीमा परेका छन् ।
यहीवेला सरकारी सेवामा पनि भर्ना प्रक्रिया अवरुद्ध बनेको छ, जसकारण सरकारी सेवा प्रवेशका लागि दरखास्त दिएका करिब दुई लाख युवा अन्योलमा छन् ।
१४ वैशाखमा मन्त्रिपरिषद्ले अर्को निर्णय नभएसम्मका लागि सबै भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको थियो ।
त्यसयता लोकसेवा आयोगले नियमित परीक्षाहरू पनि स्थगित गरेको छ । आयोगले आर्थिक वर्ष ०७७–७८ को वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसअघि स्थगित परीक्षाहरू पनि नयाँ तालिकामा राखिएका छन् ।
तर, कोरोना प्रसार बढ्दै जाँदा त्यो तालिका कार्यान्वयन हुने सम्भावना न्यून छ । त्यसको प्रत्यक्ष प्रभाव परीक्षा तयारीमा रहेको युवा जनशक्तिमा परेको छ । खासगरी, नेपाल प्रहरी र नेपाली सेनातर्फ जनशक्ति अभाव देखिन थालेको छ ।
‘सरकारबाट स्थगनका लागि आग्रह भएकाबाहेकका पदमा परीक्षा प्रक्रिया थाल्ने योजना थियो,’ आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईं भन्छिन्, ‘तर, कोरोना संक्रमण बढ्दै गएकाले सुरु गर्न सकिएको छैन ।’ दरखास्त लिइसकेका विज्ञापनमा अवस्था सामान्य भएपछि परीक्षा सञ्चालन हुने उनको भनाइ छ ।
हजारौँ दरखास्त अलपत्र
निजामतीतर्फ ३३ हजार कर्मचारी विभिन्न तहको परीक्षामा सहभागी थिए । यस्तै, सुरक्षा निकाय र सार्वजनिक संस्थानतर्फ ५९ हजार आठ सय ३७ जना लिखित परीक्षाको तयारीमा थिए ।
त्यसबाहेक सेनाको ६ हजार ६७ र नेपाल प्रहरीको चार हजार ६६ पदमा कतिजना लिखित परीक्षामा सहभागी हुँदै छन् भन्ने विवरण आयोगमा पुगिसकेको थिएन ।
साढे १४ हजार पदमा भर्ना रोकियो
गत आव ०७६/७७ मा १४ हजार चार सय ९२ पदमा भर्ना प्रक्रिया अगाडि बढेको थियो । ती सबै पदको परीक्षा अवरुद्ध छ ।
सुरक्षा निकाय र संगठित संस्थाअन्तर्गत मात्र ११ हजार सात सय ९३ पदमा भर्ना रोकिएको छ । त्यसमा सबैभन्दा बढी संख्या सेना र नेपाल प्रहरीको छ ।
सेनाले अधिकृत क्याडेटमा एक सय ५०, प्राविधिकतर्फ ५६ र सैन्यमा ६ हजार ७६ पदमा लिखित परीक्षाका लागि आयोगलाई पत्राचार गरेको थियो ।
नेपाल प्रहरीमा चार हजार ६६ पदमा भर्ना प्रक्रिया रोकिएको छ । प्रहरीले निरीक्षक र सहायक निरीक्षकको भर्ना प्रक्रिया बढाए पनि लोकसेवासम्म पुग्न बाँकी थियो । सशस्त्र प्रहरीतर्फ पनि पाँच सय तीन पदमा भर्ना रोकिएको छ ।
दुग्ध विकास संस्थानका एक सय ८०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सय ५२, बिमा समितिका १५, राष्ट्रिय अनुसन्धान विभागका दुई सय ३२, आयल निगमका एक सय ३१, नेपाल टेलिभिजनका एक सय ८७, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका ४३ र नेपाल नोटरी पब्लिकका दुई पदमा भर्ना प्रक्रिया अगाडि बढेको थियो । ती सबै अवरुद्ध छन् ।
यस्तै, निजामतीतर्फका दुई हजार ६ सय ९९ पदको परीक्षा प्रक्रिया अन्योलमा परेको छ । त्यसमध्ये धेरैको चासो शाखा अधिकृत (न्याय, परराष्ट्र र प्रशासन), संसद् र नायब सुब्बाको परीक्षामा छ ।
न्यायतर्फको शाखा अधिकृतमा दुई हजार ५७ जना दोस्रो चरणका लागि छानिएका थिए । परराष्ट्र, प्रशासन र संसद्मा अधिकृततर्फ तीन हजार तीन सय ५३ जना दोस्रो चरणका लागि छनोट भएका थिए ।
नासुतर्फ आठ हजार तीन सय ६ सय ६७ जना दोस्रो चरण प्रवेश गरेका थिए । स्वास्थ्यतर्फ पनि सयौँ पदको भर्ना प्रक्रिया रोकिएको छ ।नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्