काठमाडौं, जेट २७ । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मन्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताएका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले पानी प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा पनि भीड सडकमै रहेकाले सामान्य बल प्रयोग गरी चारजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर पछि छोडिएको बताए ।
‘नागरिकको जीउ–धनको सुरक्षा गर्नु सरकारको दायित्व हो । कानुनविपरीत बल प्रयोग भए/नभएको छानबिनबाट अवगत हुनेछ । प्रदर्शनकारी र प्रहरी घाइते भएकामा दुःख व्यक्त गर्न चाहन्छु’–गृहमन्त्री थापाले भने ।
उनको जवाफपछि प्रश्न गर्दै सांसद बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशप्रसाद यादवले गृहमन्त्रीको जवाफ तयारीजस्तो देखिएको र छानबिन समिति गठन गरिएको छ/छैन स्पस्ट पार्न आग्रह गरे ।
सरकारको संयमता नदेखिएको उल्लेख गर्दै उनीहरुले दमन गर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक छ ? भनी जिज्ञासा राखेका थिए ।
सांसदका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले दोषी देखिने प्रहरी र प्रदर्शनकारी दुवैलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।
सडक अवरुद्ध गर्नु लोकतान्त्रिक अधिकार नभएको र प्रहरीमाथि ढुंगा हान्नु शान्तिपूर्ण नहुने उनले बताए ।
शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन, हस्तक्षेप नगरी संरक्षण नै गर्ने गरिएको गृहमन्त्री थापाले सुनाए । रासस









प्रतिक्रिया दिनुहोस्