Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘सरकार भ्रष्टाचारमा लिप्त’


0
Shares

पोखरा, जेठ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले वर्तमान सरकार दुईतिहाइको बलमा संविधान र कानुनभन्दा माथि उठेको आरोप लगाएका छन् ।

सोमबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एकदलीय अधिनायकवादतर्फ उन्मुख हुन सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको आरोप पनि लगाए ।

‘सरकार भ्रष्टाचारमा लिप्त रहेका कारण जनताका आकांक्षा पूरा गर्न सक्दैन’–उनले भने ।

सरकारले भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको भन्दै उनले कांग्रेसका नेतालाई दोषी देखाएर भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए  ।

उनले भ्रष्टाचारमा मुछिए कांग्रेसकै नेताको पनि सती जान नसकिने बताए ।

भ्रष्टाचारसम्बन्धी विभिन्न कान्डको छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारलाई चुनौती दिए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानका प्रतिनिधिसमेत रहेका उनले पहिलो चरणको जागरण अभियानले कास्कीका कार्यकर्ताहरु उत्साहित बनेको दाबी गरे ।

एकमहिने जागरण अभियानले कार्यकर्तामा थप हौसला बढेको जिकिर उनले गरे ।

निर्वाचनपछि जनतासँग संवाद टुटेका बेला जागरण अभियानले कार्यकर्तालाई जनतामाझ जान सहज भएको उनको भनाइ थियो ।