१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


रुपन्देहीको देवदहमा एक युवकको हत्या


26
Shares

बुटवल, जेठ २६ । रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको गएराति हत्या भएको हो ।

कुटपिटबाट गम्भीर घाइते थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

थापालाई आफ्नै साथीभाइले कुटपिट गरेको आशंका गरिएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम भेटिएको थियो ।

प्रहरीले थापाको हत्यामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय, बुटवल ल्याइसकिएको छ ।

देवदह क्षेत्रमा यसअघि पनि युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो । हत्याहुने क्रम नरोकिएपछि देवदहबासी त्रसित भएका छन् ।