Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


विकास खर्च काटेर सांसदलाई ल्यापटप, ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर


0
Shares

काठमाडौं । सरकारले देशको विकास खर्च काटेर सांसदका लागि प्रतिसांसद एक लाख बढी पर्ने ल्यापटप खरिद गर्ने भएको छ ।

विकास खर्च काटेर ल्यापटप दिने सरकारको निर्णय उपयुक्त नभएको अधिकारीले बताएका छन् ।

सांसदलाई ल्यापटप किन्न विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गर्न लागिएको हो ।

सांसदहरु विभिन्न लबिङ गरी आफ्नो निर्वाचन क्षेत्रमा ४ करोडबाट बढाएर ६ करोड लैजान सफल भएका थिए ।

अहिले तिनै सांसदका लागि मुलुकको विकास बजेट काटेर महँगो दरमा ल्यापटप किन्न लागिएको हो ।

संघीय संसद्का ३ सय ३४ सांसदलाई सरकारले रकमान्तर गरी ल्यापटप किन्ने प्रक्रिया अघि बढाएको छ ।

संघीय संसद्लाई ‘पेपर लेस’ गराउने भन्दै सरकारले संघीय संसद्को प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदलाई ल्यापटप दिने भएको हो ।

सरकारले विकास बजेटमा छुट्याइएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गरी संसद्मा पठाउने निर्णय गरेपछि संसद सचिवालयले ल्यापटप खरिदको प्रक्रिया अघि बढाएको छ ।

सरकारले आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याइएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप खरिद गर्न रकमान्तर गरेको हो ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी ३ सय ३४ सांसदलाई एक लाख रुपैयाँका दरले ल्यापटप खरिद गर्न बजेट छुट्याइएको संसद् सचिवालय स्रोतले जनाएको छ ।-राजधानी दैनिकबाट