
बैंकक, असार ३० । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्यान्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउँदो बिहीबार घर फर्कने भएका छन् ।
स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट बिदाइ गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् ।
गुफामा फसेका १२ जना बालक र उनीहरुका एकजना फुटबल प्रशिक्षकलाई चार दिनअगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए ।
उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ ।
‘आउदो बिहीबार उनीहरु सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ’–अस्पतालका एक अधिकारीले भने ।
उद्धार गरिएका बालक र उनीहरुका अभिभावकलाई आफन्त र साथीहरुसँग समय बिताउन तर सन्चारमाध्यमलाई अन्तर्वार्ता नदिन सुझाव दिइएको छ ।
थाइल्यान्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झन्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए ।
घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपनि उनीहरुको अवस्था नवौं दिनमामात्रै पत्ता लागेको थिए ।
उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तरर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत् विज्ञलाई परिचालन गरिएको थियो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्