Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


दक्षिण अफ्रिकालाई हराउन भारतलाई २२८ रन जरुरी


0
Shares

काठमाडौं, जेठ २२ । इंग्ल्यान्डमा जारी विश्वकप एकदिवसीय क्रिकेटमा अहिले भारत र दक्षिण अफ्रिका भिडिरहेका छन् ।

साउथह्याम्पटनमा जारी खेलमा दक्षिण अफ्रिकाले जितका लागि भारतलाई २२८ रनको सामान्य चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १५८ रन बनाउँदा ७ विकेट गुमाएको थियो ।

आठौं विकेटका लागि बलरहरु क्रिस मोरिस र कागिसो रबाडाबीच ६६ रनको साझेदारी भएपछि उसले सम्मानजनक योगफल बनाएको हो ।

दक्षिण अफ्रिकाले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनायो । मोरिसले ३४ बलमा ४२ तथा रबाडाले ३५ बलमा अविजित ३१ रन जोडे ।

भारतका लागि युजभेन्द्र चहालले ४ तथा भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान २/२ विकेट लिए ।

भारतले जारी विश्वकपमा पहिलो खेल खेलिरहेको हो । दक्षिण अफ्रिकाले यसअघि खेलेका दुवै खेल हारेको थियो । दक्षिण अफ्रिकालाई इंग्ल्यान्ड र बंगलादेशले हराएको हो ।

सेमिफाइनलको सम्भावना जीवितै राख्न पनि यो खेल दक्षिण अफ्रिकालाई जित्नैपर्ने दबाब छ ।

भारतले पछिल्लो २० वर्षदेखि इंग्ल्यान्डमा दक्षिण अफ्रिकालाई हराउँदै आएको छ ।

बंगलादेश र न्यूजिल्यान्ड पनि मैदानमा

प्रतियोगिताअन्तर्गत्कै अर्को खेलमा अहिले बंगलादेशले न्यूजिल्यान्डसित खेलिरहेको छ ।

लन्डनमा जारी खेलमा दुवै टिम जोशका साथ मैदानमा उत्रिएका छन् । बंगलादेशले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

न्यूजिल्यान्डले पहिलो खेलमा श्रीलंकामाथि १० विकेटको जित हासिल गरेको थियो भने बंगलादेशले दक्षिण अफ्रिकामाथि २१ रनको सनसनीपूर्ण जित दर्ता गरेको थियो ।