Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


शीर्ष नेताबीच मत बाझियो, नेकपा सचिवालय बैठक फेरि बिनानिष्कर्ष


0
Shares

काठमाडौं, जेठ २२ । एक व्यक्ति एक पद लागू गर्ने या नगर्ने विषयमा शीर्ष नेताहरुबीच मत बाझिएपछि जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्न बसेको नेकपाको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरुबीच एक व्यक्ति एक पद लागू गर्ने वा नगर्ने विषयमा सहमति जुट्न नसकेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

मंगलबार बालुवाटारमै बसेको बैठक पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । सो बैठकमा छलफल भएको र आज निष्कर्षमा पुगिने बताइएको थियो ।

७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद रहँदै आएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जिम्मेवारी बाँडफाँटको मापदन्डका विषयमा गम्भीर छलफल भएको र छिट्टै टुंगो लाग्ने प्रतिक्रिया दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तता देखाउँदै बैठक बिहीबार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार बस्ने बैठकले जिल्ला इन्चार्ज, सहइन्चार्ज र त्यसपछि अरु विभाग तथा सांगठनिक एकताका बाँकी विषयबारे छलफल गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेकपामा अध्यक्ष ओली, सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल दोहोरो जिम्मेवारीको पक्षमा छन् । वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक पद एक व्यक्तिको अडानमा देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल र रामबहादुर थापा भने कुनै पक्षमा खुलेका छैनन् ।

पार्टीभित्रको आन्तरिक विवाद र गुटबन्दीले पोलिट्ब्यूरो गठन र विभागको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन ।