काठमाडौं । जघन्य अपराधहरूमध्ये कर्तव्य ज्यानसम्बन्धी मुद्दालाई सबैभन्दा गम्भीर प्रकृतिको अपराध मानिन्छ ।
तर, सजायको अवस्था भने त्यस्तो छैन । कर्तव्य ज्यान मुद्दाका कैदीहरू अन्य जघन्य प्रकृतिका अपराधका मुद्दाभन्दा छिटो छुट्ने गरेका छन् ।
श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त हुँदै छन् ।
सर्वोच्च अदालतले १५ असारमा उनको सजाय घटाउने फैसला गरेको हो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।
सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो । तर, अब उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । जसका कारण उनी बिहीबार जेलमुक्त हुँदै छन् ।
पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।
यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ । अन्य मुद्दामा महिनौँपछि पूर्णपाठ तयार गर्ने सर्वोच्चले यो मुद्दाको पूर्णपाठ १५ दिनमै तयार गरिसकेको थियो ।
०५० मा गीता ढकालसँग मागी विवाह भए पनि राजीखुसीमा नभई बुबाआमाको करले गरेको रञ्जन कोइरालाले बताएका छन् ।
विवाहको आठ वर्षपछि नै उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए । गीताले उनीमाथि काठमाडौं जिल्ला अदालतमा अंशचलान र मानाचामल मुद्दा हालेकी थिइन् । यही विवादका बीच तालिमका क्रममा चीनबाट २१ मंसिर ०६८ मा नेपाल फर्केको उनले प्रहरीलाई बताएका छन् । नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्