काठमाडौं । शीर्ष खेलाडीहरु रोजर फेडेरर र रफाइल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा भिड्ने भएका छन् ।
क्वाटरफाइनल खेलहरुमा जित निकाल्दै दावेदारहरु फेडेरर र नदालले सेमिफाइनल भिडन्त तय गरेका हु्न् ।
पेरिसको रोलाँ ग्यारोमा गएराति भएको क्वाटरफाइनलमा फेडेररले स्टानिस्लास वावरिङ्कालाई ३–१ को सेटमा हराए ।
आफ्नै देशका वावरिङ्का विरुद्धको खेल स्विस टेनिस स्टार फेडेररले ७–६, ४–६, ७–६ र ६–४ को सेटमा जिते ।
उता दोस्रो वरियताका नदालले क्वाटरफाइनलमा जापानका केई निशिकोरीलाई ६–१, ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे ।
जितसँगै नदालले फेडेरर विरुद्धको हाइ प्रोफाईल भिडन्त तय गरेका हुन् । यी दुई खेलाडीबीचको हेड टु हेड रेकर्डमा नदाल अगाडि छन् ।
कुल ३८ भिडन्तमा नदाल २३ पटक विजयी हुँदा फेडेररले १५ जित हात पारेका छन् । नदालले ११ पटक फ्रेन्च ओपन जित्दा फेडेररले एक पटक मात्रै उपाधि हात पारेका छन् ।
फ्रेन्च ओपन टेनिसको महिलातर्फ बेलायतकी योहाना कोन्टाले सेमिफाइनल यात्रा तय गरिन् ।
कोन्टाले अमेरिकी खेलाडी स्लोआनी स्टेफेन्सलाई ६–१ र ६–४ को सोझो सेटमा पाखा लगाईन् ।
जितसँगै कोन्टा सन् १९८३ पछि फ्रेन्च ओपनको सेमिफाइनल पुग्ने पहिलो बेलायती महिला खेलाडी बनेकी छन् ।








प्रतिक्रिया दिनुहोस्