काठमाडौं, जेठ २१ । चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिमहरुको सफलता कायमै रहेको छ ।
नेपाली सेनाको आयोजनामा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जारी खेलमा मंगलबार तीनओटै विभागीय टिमले जित निकाले ।
समूह ‘क’मा तीन खेलबाट शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर–२ लाई २५–१५, २५–१२ र २५–१३ को सोझो सेटमा हरायो ।
यस्तै, सोही समूहबाट लगातार दोस्रो जित निकाल्नेक्रममा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई २५–१७, २५–८ र २५–१७ को सोझो सेटमा हरायो ।
यता, समूह ‘ख’को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर–५ लाई २६–२४, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्यो ।
जितसँगै समूह ‘ख’को पुलिस दुई खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यो समूहमा तीन खेलबाट ९ अंक जोडेको गन्डकी प्रदेश शीर्ष स्थानमा छ ।
गन्डकीले मंगलबारै कर्णाली प्रदेशलाई २५–२१, २७–२५ र २५–१४ को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगितामा तीन विभागीयसहित सात प्रदेशका गरी १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
‘लिगकम नकआउट’का आधारमा सन्चालित प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
उपाधि विजेताले तीन लाख, उपविजेताले डेढ लाख र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको भागमा पल्सर बाइक हात लाग्नेछ ।








प्रतिक्रिया दिनुहोस्