काठमाडौं, जेठ २० । प्रदेश नम्बर–३ सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।
जितसँगै प्रदेश–३ समूह ‘ए’को विजेता बनेको छ ।
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो ।
१५५ रनको विजयी लक्ष्य प्रदेश–३ ले ३३.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
प्रदेश–३ का लागि इशान पाण्डेले सर्वाधिक ५३ रनको योगदान दिए । आदिल खानले अविजित ३३, कप्तान पारस खड्काले २६ रन, रवीन जोशीले १३, प्रतिश जिसीले ११ तथा जितेन्द्रसिंह ठकुरीले अविजित १२ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका विकास आग्री, शेर मल्ल, विनोद लामा र महेश अधिकारीले १/१ विकेट लिए ।
यसअघि, ब्याटिङ गर्दै सुदूरपश्चिमका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६ तथा कप्तान शेर मल्लले १४ रन बनाए ।
बलिङतर्फ प्रदेश–३ का सूर्य तामाङले ३, प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले २/२ विकेट लिए । रासस








प्रतिक्रिया दिनुहोस्