Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


ओली र दाहालबीच आज पनि छलफल, सहमति खोज्ने प्रयास


0
Shares

kp oli prachanda NCP primeminister

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ ।

हिजो प्रधानमन्त्री ओलीले समय नदिएपछि थप छलफल हुन नसकेको नेताहरुले बताएका थिए ।

आज पुरानै विषयमा सहमति खोज्ने प्रयास गरिने दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

स्थायी कमिटीको बैठक असार १६ गतेयता अवरूद्ध रहँदै आएको छ । पछिल्लो पटक असार २६ गतेलाई तय गरिएको थियो ।

तर, मुलुक बाढी, पहिरोको प्रकोपले आक्रान्त बनेपछि एक साता धकेलिएको थियो ।

यसबीचमा पार्टीको आन्तरिक संकट व्यवस्थापनका लागि दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास पनि सफल हुन सकेको छैन ।

स्थायी कमिटीको पाँचौं बैठक सुरु भएपछि दुई अध्यक्ष आजसम्म गरी छैटौं पटक एक्लाएक्लै (वान अन वान) वार्ता हुँदैछ ।

तर, अध्यक्षद्वयबीच पुरानै रटान कायमै छ । पार्टी अध्यक्ष दाहालले सुरुमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा हुनुहुन्थ्यो ।

सहमतिका लागि एक पद छाड्न गरेको आग्रह पनि प्रधानमन्त्री ओलीले अटेर गर्दै कुनै पनि पद त्याग्न नसक्ने अडानमा कायमै रहनुभएको छ ।