Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


रुसमा विस्फोटक पदार्थ बनाउने कारखानामै विस्फोट, ७९ जना घाइते


0
Shares

काठमाडौं । रुसमा शक्तिशाली विस्फोटक पदार्थ बनाउने एक कारखानामा विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते भएका छन् ।

जसिङ्क शहरमा रहेको कारखानामा भएको विस्फोटबाट आसपासका १ सय ८० घरमा समेत क्षति पुगेको छ ।

विस्फोटमा घाइतेमध्ये ३८ जना मजदुर र ४१ जना सर्वसाधारण भएको बताइएको छ ।

रुसी सेनाका लागि आवश्यक विस्फोट पदार्थ उत्पादन गर्ने यो कारखानामा एक्कासी विस्फोट भएको हो । विस्फोटबाट क्रिस्टल रिसर्च इन्स्टिच्युट पुरै ध्वस्त भएको छ ।  

विस्फोटको समयमा पाँच जना कारखानाभित्रै रहेको भए पनि उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

सोसल भिडियामा सार्वजनिक भएका तस्बिरहरुमा विस्फोटपछि त्यस क्षेत्र धुँवामय भएको देखिएको छ । विस्फोटमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

शक्तिशाली विस्फोट भएपछि कारखाना रहेको भवनका सीसा र धातुले लागेर धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटपछि त्यस क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

स्थानीय स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कारखानामा विस्फोटपछि एक सय वर्गमिटरमा आगो लागेको बताएका छन् ।

यही शहरमा गत अप्रिलमा भएको एक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो ।(एजेन्सी)