१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


‘१० जनामध्ये एकजनाको चुरोट सेवनका कारण अकालमा मृत्यु’


0
Shares

प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, जेठ १७ । ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं’ भन्ने नाराका साथ शुक्रबार विश्व धूमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा ९० लाख व्यक्तिले सुर्तीजन्य पदार्थ प्रयोग गरेको तथ्यांक रहेको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारणले हुने गरेको छ ।

१० जनामध्ये एकजनाको चुरोट सेवनका कारण अकालमा मृत्यु हुने गरेको छ । वार्षिक ७० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा वर्सेनि २७ हजार १३७ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा देखापरेको छ ।

चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाको मृत्यु हुने गरेको बताइएको छ ।

क्यान्सररोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले धूमपानको सेवनले नसर्ने रोगीको संख्या बढेको र जसलाई नियन्त्रण गराउन स्वास्थ्य मन्त्रालयले ठाउँ–ठाउँमा धूमपान नियन्त्रण केन्द्र स्थापना गराउनुपर्ने बताए ।

नेपाल सरकारले २०६८ सालमा बनाएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनसमेत कार्यान्वयनमा आउन सकेको छैन ।

धूमपानको सेवनका कारण फोक्सो, क्यान्सर, मुटु र मधुमेह, श्वासप्रश्वास, उच्च रक्तचापजस्ता विभिन्न दीर्घ रोगले भयावह रुप लिँदै गएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले धूमपान नियन्त्रण गराउन कानुनलेमात्र सम्भव नरहेको भन्दै सचेत वर्गले नै धूमपान नियन्त्रण गराउन लागिपर्नु पर्ने बताए ।

धेरै मानिसलाई सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पुर्‍याउने असर र लाग्ने रोगबारे जानकारी भएरपनि बेवास्ता गर्ने गरेको चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव जनचेतनामै बढी जोड दिनुपर्ने बताउँछन् ।

पछिल्लो समय युवा–युवतीमा धूमपानलाई फेसनकारुपमा लिने प्रचलन बढ्दै छ । त्यही कारण पनि धूमपान घटाउन समस्या भएको छ ।

सरकारले सार्वजनिकस्थलमा धूमपान गर्न नपाउने कानुन बनाएपनि त्यो प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

भिडियो हेर्नुहोस्