
काठमाडौं, जेठ १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहबीच मोदीले राष्ट्रपति रामनाथ कोविन्दबाट दोस्रो कार्यकालको शपथग्रहण गरेका हुन् ।
मोदीले केन्द्रीय मन्त्रीमन्डल पनि गठन गरेका छन् । गठबन्धनमा आवद्ध दलहरुबाटसमेत मन्त्री बनाइएको छ ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह पनि सरकारमा सहभागी भएका छन् ।
यस्तै, पूर्वअध्यक्षद्वय राजनाथ सिंह र नितिन गडकरी पनि सरकारमा सहभागी भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई पनि शपथग्रहण गराइएको छ ।
यसअघि, अर्थमन्त्री रहेका अरुण जेट्ली र विदेशमन्त्री रहेकी सुष्मा स्वराज भने यसपटक सरकारमा सहभागी गराइएका छैनन् ।
शपथग्रहण समारोहमा प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी, सोनिया गान्धी, मनमोहन सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न राज्यका राज्यपाल र मुख्यमन्त्रीहरु, उद्योगपतिहरु, बलिउड कलाकारहरु, पत्रकारहरु तथा विभिन्न तह र तप्काका सात हजार बढी सहभागी भएका छन् ।
हालै सम्पन्न लोकसभा चुनावमा लोकसभाका ५४३ सिटमध्ये भाजपा एक्लैले ३०३ सहित एनडीए गठबन्धनले ३५३ सिट जितेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्