२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एक/दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक/दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३ नम्बर प्रदेशका सांसदहरुसँगको शुक्रबारको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘एउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिँदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनुहुँदैन’–प्रधानमन्त्री ओलीले भने–‘नेपाली कांग्रेसले झिना–मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने अनि संसदको कारबाही अवरुद्ध हुने, अब यस्तो हुँदैन । दुई/चारजना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन ।’

देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पूरा गर्नका लागि प्रयोग गर्न नहुने उनको भनाइ छ ।

‘हामी दुईतिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा संसदमा जोडदार उठाउनुपर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नुपर्दछ’–उनले भने ।

सांसदहरुको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए ।

‘साउनभित्र पार्टी एकीकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन्’–नेकपाका अध्यक्ष ओलीले भने–‘अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।’

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले दोहोर्‍याए ।  सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने उनले उल्लेख गरे ।

सांसदहरु कृष्णभक्त पोखरेल, रामनारायण बिंडारी, पार्वत गुरुङ, विरोध खतिवडा, महेश बस्नेत, कृष्णराज दाहाल, अन्जना बिशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटालगायतले समसामयिक राजनीतिक विषय, जिल्ला तथा क्षेत्रहरुमा उठेका विभिन्न समस्याहरु प्रधानमन्त्रीलाई जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।