Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, चालक घाइते


0
Shares

कावासोती, जेठ १३ । नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् ।

नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु२ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । 

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ ।

घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा३च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि  खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । (रासस)