
राजेश जीसी /इमेज
प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले व्यवसायिक कृषि फार्म संचालन गरेको छ । कृषि तालीम तथा भ्रमणमा धेरै खर्च गरेपनि उपलब्धि शुन्य भएपछि फार्म सञ्चालनमा ल्याएको हो । प्यूठानको झिमरुक गाउँपालिकाले व्यवसायिक कृषि फार्म सञ्चालन गरेको छ ।
केही वर्ष यता पालिकाले कृषि तालिम तथा अवलोकन भ्रमणका नाममा धेरै खर्च गरेपनि उपलब्धि नदेखिएपछि कृषि फार्म सञ्चालन गरेको छ । किसानलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिनका लागि कृषि फार्म सञ्चालन गरिएको हो ।
आधुनिक प्रविधिमार्फत खेती गरेर बेरोजगार युवाको सीप विकास गरी स्वरोजगार बनाउन सहयोग पुग्ने झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसी बताउनुहुन्छ । व्यवसायिक कृषि फार्म संचालनका लागि वार्षिक २५ हजारका दरले पाँच वर्षका लागि झण्डै ३ रोपनी जग्गा भाडामा लिएको छ । अहिले फार्ममा च्याउ, काँक्रा, भान्टा, फर्सी बोडी लगायत विभिन्न बेमौसमी तरकारी उत्पादन भएका छन् ।
कृषि प्राविधिकहरुले फार्मको रेखदेख गर्दै आएका छन् भने, आवश्यकता अनुसार दैनिक ज्यालादारीमा मजदुरसमेत प्रयोग गर्ने गरिएको छ । गाउँका अगुवा किसान जम्मा गरेर, प्रयोगात्मक अभ्यास गराउँदै खेती गर्दा किसानहरु खुशी भएका छन् ।
आगामी वर्षमा कृषि फार्मलाई अझ व्यवस्थित र व्यवसायिक बनाउने गाउँपालिकाको योजना छ । साथै बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न पनि फार्म सहयोगी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्