
काठमाडौं, जेठ १२ । सरकारले सन् २०१९ सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष्य लिएको छ । तर पछिल्लो दुई वर्षमा दादुरा रोगीको संख्या थपिन थालेपछि भने सरकारको लक्ष्य पुरा हुनेमा आशंका बढेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सन् २०१९ को सुरुवाती तीन महिनामा ३७२ जना नयाँ दादुराका रोगी थपिएका छन् । मोरङ, कपिलवस्तु, दाङलगायत तराईका जिल्लाहरुमा दादुराका रोगी देखिन थालेका हुन् ।
बच्चा जन्मिएको ९ देखि १५ महिनामा दुई पटक दादुराविरुद्धकोे खोप दिइन्छ । दादुरा लाग्नबाट जोगाउन दिइने पहिलो चरणको खोपले ८५ प्रतिशत र दोस्रोले ९५ प्रतिशत दादुरा रोग लाग्नबाट बचाउने चिकित्सकहरु बताउँछन् । दादुराका नयाँ बिरामी देखा पर्न थालेपछि चुनौती थपिएको परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा बताउँछन् ।
नेपालमा प्रत्येक वर्ष करिब ६ लाख २३ हजार बालबालिकालाई दादुराको खोप दिइदै आएको छ । दादुराविरुद्ध पहिलो खोप लगाउने बालबालिकाको संख्या ६६ प्रतिशत छ भने दोस्रो अर्थात १५ महिनामा लगाइने खोपमा बालबालिकाको संख्या घटेको सरकारी तथ्यांक छ ।
सरकारले सन् २०१९ भित्र दादुरा निवारण गर्ने लक्ष्यलाई सफल बनाउन आगामी मंसिर महिनादेखि दादुराबिरुद्धको विशेष खोप कार्यक्रम सञ्चालन गर्दैछ । यो कार्यक्रम अन्तर्गत बच्चा जन्मिएको ९ महिनादेखि ५ वर्षसम्ममा ३० लाख बालबालिकालाई खोप दिइनेछ । देशव्यापी रुपमै यो कार्यक्रम सञ्चालन गर्ने र सबै बालबालिकामा दादुराको खोप पु¥याउने शाखा प्रमुख शर्माको भनाइ छ ।
सरकारले प्रत्येक वर्ष दादुरा रोगविरुद्धको खोपका लागि झन्डै १६ करोड रुपैयाँ खर्च गर्ने गरेको छ । यति ठूलो रकम खर्च भए पनि अझै पनि दादुरा रोगी देखिन थाल्नुले दादुराविरुद्ध दिइने खोप कार्यक्रमको प्रभावकारितामा भने चुनौती थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्