
✍️ तेजप्रसाद लामिछाने
राणा शासन विरुद्ध आन्दोलन छेड्ने उद्देश्यले वीपी कोईराला, सुवर्ण सम्शेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई चार जना संस्थापकले जन्माएको चार तारे काङ्ग्रेसले २००७ सालमा राणा शासनलाई बिस्थापित गरि जनतालाई स्वतन्त्र बनायो । काङ्ग्रेस संस्थापक एवं सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा चाक्सिवारीबाट शुरु भएको २०४६ सालको जन आन्दोलनले प्रजातन्त्र पुनःस्थापना गर्यो ।
काङ्ग्रेस नेता गिरिजा बाबुको नेतृत्वमा युद्ध र द्वन्दको राजनीतिमा विश्वास गर्नेलाई लोकतान्त्रिक ब्यवस्थामा ल्याएर २०६४ मा नेपालमा गणतन्त्रको घोषणा भयो, २०७२ सालमा काङ्ग्रेस सभापति सुशील कोईराला नेतृत्व सरकारले संबिधान सभाबाट संघिय गणतान्त्रिक संविधानको घोषणा गराएर संमान योग्य इतिहास रचेको देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस अहिले उद्देश्य र लक्ष्यविहीन भएर मर्नु र बाच्नुको दोसाँधमा पुगेको छ ।
नेतृत्व र पार्टी संगठन ।
२०७४ को संघीय, प्रदेश र स्थानीय चुनाबमा नेकपासंग लज्जास्पद पराजित नेपाली काङ्ग्रेस भित्रको रोगको वास्तविक कारण लुकाएर पार्टी नेतृत्वले भोलिका दिनमा झनै ठूलो दुर्घटना निम्त्याउँदैछ । संघीय संरचना अनुरुप अहिलेसम्म गठन हुन नसकेका लथालिङ्ग प्रदेशदेखि स्थानीय पार्टी संगठन, बर्षौदेखि अधिवेशन हुन नसकेका तर भागबन्डा र आशीर्वादले टिकेका भ्रातृ संघसंगठनहरुको कमजोर स्थिति देखेर पार्टीको अस्तित्व नै संकट पर्ने हो कि भन्ने चिन्तामा छ, आम काङ्ग्रेसी कार्यकर्ताहरुलाई । पराजितको कमजोर मानसिकता, निरासाको भावना लिएर बाँचेका काङ्ग्रेसीहरु अहिलेकै पार्टी नेतृत्वबाट सत्ताको उन्मातमा रमाएको नेकपासंग आगामी चुनावमा सजिलै भिडन सकिन्छ भन्ने कुरामा स्वयं काङ्ग्रेस कार्यकर्ताहरुमा नै विश्वास छैन ।
चुनावमा जनमत गुमाएपछी लोकतान्त्रिक पार्टी नेतृत्वले राजिनामा दिने विश्वब्यापी मान्यता हो तर यस पटक नेपाली काङ्ग्रेसमा त्यो पनि हुन सकेन । निर्वाचनमा पार्टी पराजित भएपछि हेटौंडाको जिल्ला सभापतिहरुको भेला र काठमाडौको महासमिति बैठकद्वारा विशेष अधिवेशनको लागि वातावरण बनाउन छलफल । चर्चा र अभियान चलाए पनि त्यो पनि सफल हुन सकेन ।
देश समाजको परिस्थिति र समय अनुकूल रहँदा रहँदै पनि चार बर्षभित्र गर्नु पर्ने पार्टीको नियमित अधिबेशन समयमा गर्न नखोज्ने अनि अन्तिम समयमा आएर सबैको सहमति बिना बिधानका केही धारा उपधारा निलम्बन गरेर नेतृत्वले एकतर्फी निर्णय गरेर अधिबेशन छल्न खोज्ने नियतले गरेको त्यो निर्णय आफैमा चौतर्फी बिरोध भयो । नेतृत्व इतरपक्षमा बोहराटार र महाराजगन्जको नेतृत्वदायी भुमिका कमजोर भएपछि हरेकजसो निर्णयमा देउवा नेतृत्वपक्ष हाबी हुँदै गएको हो ।
प्रस्तुत १४ औ महाधिवेशनको कार्यतालिका अनुसार कार्तिक (१६ देखि २९ मंसिर २०७७ सम्मको तल्लो तहको अधिवेशन सपन्न गर्न र गराउन सक्यो भने मात्र पनि पार्टी शुद्धीकरणको लागि पचास प्रतिशत सफलता मिलेको मान्नु पर्छ । २०७४ आमचुनाब पछिको १ बर्ष भित्र बिशेष अधिबेशन गर्न सकेको भए नयाँ नेतृत्वको नैतिकबलमा पनि नेकपा सरकारको चौतर्फी बिरोध भएको अवस्थामा गएको उपचुनाव काङ्ग्रेसको अनुकुल हुन सक्थ्यो कि धरान र भक्तपुर बाहेक दाङ्ग, बागलुङ र कास्कीमा काङ्ग्रेसले चुनाब हार्यो । डा. शेखर कोईरालाको पुरानो कार्यक्षेत्र धरान त्यहाँको सुकुम्बासी बस्तिमा उनको चुनावी रणनीतिले तिलक राईलाई मेयर पदमा विजयी हुन सजिलो भएको हो ।
नेकपाको अलोकप्रिय उम्मेदवारको कारण भक्तपुर जिल्लाको प्रदेश सांसदमा काङ्ग्रेस उम्मेदवार बिजयी भए । नयाँ लोकप्रिय केन्द्रिय नेतृत्व र सबल पार्टी संगठन भएको भए दाङ , कास्की र बागलुङमा पनि काङ्ग्रेस उम्मेदवार बिजयी हुने संभावना पनि थियो । अब पनि निर्धारित कार्यतालिका अनुरुप समयमा १४औं महाधिबेशन हुन सकेन भने २०७९ को चुनाब पनि नेपाली काङ्ग्रेसको अनुकुल हुने छैन, निश्चित भए हुन्छ ।
अहिलेको चुनौती ।
नेकपाको सरकारमाथी सामाजिक न्यायमा विभेद राज्यमा कुसुशासन र संस्थागत भष्ट्राचारको व्यापक आरोप लागेको बेला ओलि सरकार बिरुद्धमा आन्दोलित आक्रोशित लाखौं युवा समुहलाई आफुतिर आकर्षण गर्ने अहिलेको काङ्ग्रेस नेतृत्वसंग राजनीतिक संस्कार र नैतिक धरातल पनि देखिएन । बर्षैदेखि नेपाली काङ्ग्रेसमा लागेर देश र समाजको भबिष्य बदल्ने सपना देख्ने स्वयं काङ्ग्रेसीहरु नै काङ्ग्रेस नेतृत्वको आचरण र कार्यशैलीबाट आफै निरास मानसिकतामा अझिरहेको अवस्था छ । काङेसीले नै काङ्ग्रेस माथी भबिष्य नदेखेको स्थितिमा सरकारसँग रुष्ट नयाँ समूहले यथास्थितिमा नेपाली काङ्ग्रेस प्रवेश गर्लान् भन्ने छाट पनि देखिदैन ।
२०७४ चुनावको नतिजापछि मुल नेतृत्वमा नैतिक दवाब आउन थालेपछि यो त्यो बहना गरेर बिशेष अधिबेशन छल्दै गएर पूरा कार्यकाल नेतृत्वमा रहने मौका पाए देउवाले । कार्यकाल थप्न पाउने अधिकार प्रयोग गरेर पार्टी नेतृत्वले घोषणा गरेको निर्धारित समय यहि कार्तिक १६ देखि मंसिर २९ गते भित्र तल्लो तहको अधिबेशन गराउन अब नेतृत्व इतरपक्षलाई ठूलो चुनौती देखियो । घोषित वा अघोषित गरि बहुमतको दम्भमा पार्टी हित बिपरित निर्णय गर्दै, पार्टी भित्र आफू बलियो बन्दै जाने रणनीति, आफू इतर समुहलाई जे कुरामा पनि पेल्दै जाने आफ्ना बिश्वासपात्रको सल्लाहमा नयाँ रणनीतिबाट फेरि अधिबेशनको मिति सार्दै गएर १४ औं महाधिवेशन नगरीकन दुई कार्यकाल नेतृत्वमा रहने दाउमा छन् सभापति देउवा । मुल नेतृत्वको अहंकारबाट निरास आम कार्यकर्ताहरुलाई उत्साह ल्याउन निर्धारित समयमा अधिबेशन गराउन र पार्टी नेतृत्वको अहंकारलाई रोक्न राजनीतिक अडान र कमजोर नेतृत्व क्षमताको दर्जा पाएका बोहराटार र महाराजगन्जबाट अब अरु आशा गर्नु बेकार छ ।
भोलिको अवसर
नेतृत्व इतरपक्षमा बिगतका जिम्मेवारी, कार्यकर्ताको जनमत र बर्तमान लोकप्रियताको आधारमा प्रकाशमान सिंह , अर्जुननरसिंह केसी, डा. शेखर कोईराला र गगन कुमार थापा पार्टी हितको निम्ति एक ठाउँमा भएको हेर्ने रहर छ धेरै काङ्ग्रेस कार्यकर्ताहरुलाई । सरकारको गलत कार्यशैलीको बिरोध गर्दै र पार्टी संगठन सुदृढ बनाउन डा। शेखर र गगन अहिलेसम्म एक्ला एक्लै देश दौडाहामा हिडेर कार्यकर्तामा उत्साह ल्याएको पक्कै हो तर अब निर्धारित महाधिवेशनमा केन्द्रित भएर सफल बनाउन आपसी समझदारीमा पार्टी हितका लागी अब चाक्सिवारीलाई छलफल र अभियानको केन्द्र बिन्दु बनाएर जान सके नेपाली काङ्ग्रेस र भोलीको लागी राष्ट्रकै हित हुने देखिन्छ । नेतृत्वबाट हुने गलत निर्णय रोक्न, कार्यकर्ता माझ देउवा इतरपक्ष नेताहरुको आपसी एकताको सन्देश देखाउन सक्यो भने आगामी केन्द्रिय अधिबेशनबाट सबैलाई मान्य हुने नैतिकवान र लोकप्रिय नेता पार्टी नेतृत्वमा आउने आशा पनि देखिन्छ ।
निर्धारित समय (२०७७) भित्र अधिबेशन सम्पन्न गरेर लोकतान्त्रिक पद्धतिबाट भ्रातृ संघसंगठन गठन भएर कार्यकर्तामा उत्साह ल्याउन सक्यो भने दुई बर्ष पछि हुने २०७९ को आमचुनाब काङ्ग्रेसको अनुकुल हुने ठूलो संभावना पनि देखिन्छ । अधिबेशनपछि अहिले देखा परेका ब्याक्तीपिच्छेका गुट उपगुट पनि संभवतया हराउने छ्न्, अहिले देउवा समुहमा रहेका केन्द्रिय नेता जो कार्यकर्ता माझ लोकप्रिय छन्, जो चुनाबमा निवार्चित भएर आउने हैसियत राख्छन्, सक्षम नेतृत्व र पार्टीको भबिष्य देखेर उनिहरुको यहि समुहलाई साथ दिनेछन् ।
चार जना जर्साबले जिल्ला सभापति र महासमितिको साथ लिएर एक आपसमा बिश्वास र इमान्दारीताका पुर्वक अधिबेशन केन्द्रित भएर समयमा अधिबेशन गराउन सकेनन् भने पार्टी फेरि अर्को दुर्घटनामा पर्नेछ । यो अपजसबाट चार जना जर्साबहरु पन्छिन पाउने छैनन् । अन्याय गर्ने जस्तै अन्याय सहने पनि दोषी हुन्छ मान्ने प्रचलन उनिहरुमा लागू हुनेछ । तल्लो तहको अधिबेशन सकाए पछि केन्द्रीय अधिबेशनको लागी आपसी समझदारीमा गणितीय र बैज्ञानिक आधारमा पदिय जिम्मेवारी लिन र दिन सक्यो भने नेपाली काङ्ग्रेसको लागि यो भन्दा स्वर्णिम अवसर अरु के हुन सक्ला र ?
धन्यवाद ।
अध्यक्ष (गणेशमान सिंह स्मृति पुस्तकालय रूपन्देही)

प्रतिक्रिया दिनुहोस्