Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


विदेश जाँदा पनि ऋण, फर्किँदा पनि ऋण !


13
Shares

काठमाडौं । ४ असारको साँझ हिमालय एयरबाट काठमाडौं ओर्लिएका सल्यानका निर्मल बुढामगर मलेसियामा सामान प्याकिङको काम गर्थे ।

तीन महिनाअघि सम्झौता अवधि सकिएपछि उनी घर फर्किने तयारीमा थिए ।

तर, कोरोना महामारीका कारण त्यहीवेला अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै थुनिए, ९२ दिन बेरोजगार बसेर स्वदेश फर्किए ।

निर्मलले तीन महिना साथीको कोठामा शरण लिएर बिताए । ‘बेरोजगार थिएँ, आयस्रोत केही थिएन । कतिदिन त भोकै, प्यासै भएर बसियो, केही समय साथीको कोठामा शरण लिइयो,’ उनले सुनाए ।

स्वदेश फर्किन पनि उनले दोब्बरभन्दा बढी हवाई भाडा तिर्नुपर्‍यो । करिब २० हजार लाग्ने भाडाको उनले ४५ हजार ६ सय ३२ रुपैयाँ तिरे । ‘पैसा थिएन, साथीहरूसँग ऋण मागेर टिकटको जोहो गरेर फर्किएँ,’ निर्मलले भने । रोजगारीका लागि मलेसिया जाँदा पनि गाउँमा ऋण काढेर गएको उनले सुनाए ।

मलेसियामा रहेका एक सय ५८ नेपाली मजदुर ४ असारमा हिमालय एयरलाइन्सबाट स्वदेश फर्किएका छन् ।

सबैको पीडा उस्ताउस्तै छ । अधिकांश रोजगारी गुमाएका, भिसा र सम्झौता अवधि सकिएर बेरोजगार थिए । प्रायः सबै ऋण खोजेर वैदेशिक रोजगारीमा गएका थिए, अहिले फर्किंदा पनि थाप्लोमा ऋण थपिएको छ । तिनैमध्येका अर्का युवा हुन् कैलालीका सुनील चौधरी ।

काम गर्ने कम्पनीसँगको सम्झौता अवधि सकिएर उनी तीन महिनादेखि बेरोजगार थिए, त्यसैले घर फर्किदा पनि ऋण गरेर जहाजको टिकट काट्नुपर्‍यो । ‘विदेश जाँदा पनि ऋण, आउँदा पनि ऋण,’ उनले भने ।

काठमाडौंका गोविन्द रेग्मी माल्दिभ्समा इन्जिनियरिङको काम गर्थे । कोरोना महामारी बढ्दै गएपछि उनको काम बन्द भयो, तीन महिना बेरोजगार बसे । आर्थिक संकट बढ्दै गएपछि माल्दिभ्स सरकारले आप्रवासी कामदारलाई आ–आफ्नो देश फर्किन अनुरोध गर्‍यो ।

‘त्यहाँको सरकारले स्वदेश फर्किन चाहनेहरू जाऊ भन्यो,’ गोविन्दले भने । माल्दिभ्समा नेपाली दूतावास नभएकाले श्रीलंकास्थित दूतावाससँग समन्वय गरेर नेपाली कामदारले स्वदेश फर्किने चाहना देखाए ।

तर, दूतावासले कोरोना संक्रमण नभएको स्वास्थ्य रिपोर्ट ल्याएपछि मात्रै फर्काउन सकिने बतायो । स–साना टापुहरूको देश माल्दिभ्समा आप्रवासी कामदारले एक टापुबाट अर्कोमा जान पनि सरकारको अनुमति लिनुपर्छ । त्यसैले उनीहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट पेस गर्न सक्ने अवस्था थिएन ।

दूतावासँगको हारगुहारपछि माल्दिभ्समा रहेका नेपाली कामदार आफ्नै खर्चमा घर फर्कन पाउने भए । तर, हवाई भाडा भने झन्डै दोब्बर तिर्नुपर्ने भयो ।

‘अरू वेला करिब ४० हजार नेपाली रुपैयाँ लाग्थ्यो भाडा । तर, अहिले करिब ५९ हजार रुपैयाँ ति¥यौँ,’ गोविन्दले भने ।

तीन महिनासम्म बेतलबी बसेका उनले जहाजको भाडा तिर्न पनि नेपालबाट पैसा मगाए । नयाँ पत्रिका दैनिकबाट