१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


घुम्ती विद्यालयको पक्की भवन निर्माणपछि अध्ययनमा सहज


0
Shares

-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । ढोरपाटन जनवादी आधारभूत विद्यालय बागलुङको एक मात्र घुम्ती बिद्यालय हो ।

जिल्लाकै सबैभन्दा विकट यो विद्यालय रहेको स्थानमा तीन महिनासम्म हिउँ पर्ने भएकाले यसलाई घुम्ती विद्यालयका रुपमा संचालनमा ल्याइदै आएको छ ।

ढोरपाटन नगरपालिकामा पर्ने यस विद्यालय ६ महिना वडा नम्बर ८ को बोबाङ र ६ महिना ढोरपाटन नगरपालिका–९ को ढोरपाटन नबी गाउँमा पढाई हुँदै आएको छ ।

त्यहाँका स्थानीयहरुको घुम्ती बसाई हुने हुँदा विद्यालयलाई समेत घुम्ती विद्यालयका रुपमा स्थापना गरिएको हो ।

घुम्ती बसाईका कारण अति बिपन्न वर्गका बिद्यार्थीहरु विद्यालय जान वञ्चित भएपछि आफू लगायत गाउँको पहलमा घुम्ती विद्यालय स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रमणी सुनारले जानकारी दिनुभयो ।

घुम्ती बसाईका कारण बालबालिका विद्यालय जान नसक्ने, गए पनि विद्यालय छोड्ने समस्याका कारण घुम्ती विद्यालय स्थापना गर्दा विद्यार्थीलाई अध्ययनमा सहज भएको छ ।

अहिले यस विद्यालयमा कक्षा १ देखि ८ सम्म ३८५ विद्यार्थी रहेका छन् । दुई वर्ष पहिलेसम्म छाप्रोमा पढ्ने क्रममा पानी पर्दा सबै विद्यार्थी एकै ठाउँमा बसेर अध्ययन गर्दा समस्या थियो ।

अहिले निर्माण भएको विद्यालय भवनले सहज भएको कक्षा सातमा अध्ययनरत विद्यार्थी अस्मिता विकले बताउनुभयो ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईबाट तल्लो विद्यालयमा चार कोठे पक्की भवन निर्माण सम्पन्न भइसकेको छ भने शौचालय निर्माण अन्तिम चरणमा रहेको छ ।

उपल्लो विद्यालयमा चारकोठे सुविधा सम्पन्न विद्यालय भवन निर्माण भइरहेको र खानेपानीको आयोजना निर्माणको चरणमा रहेको विद्यालयका प्रधानध्यापक देव बहादुर सुनारले जानकारी दिनुभयो । .

विद्यालयको छाप्रो चर्किएको र अध्यापन गर्न असजिलो भएपछि अहिले एक करोड १४ लाख रुपंैयाँमा आठ कोठे पक्की भवनको निर्माण कार्य भई रहेको छ ।

नवी गाउँको विद्यालयमा खानेपानीको समस्या भएका कारण ६ लाख रुपैंयाँको लागतमा विद्यार्थीलाई शुद्ध खानेपानी उपलव्ध गराउने गरी निर्माण कार्य थालिएको छ ।

सरकारी दरबन्दी र राहत शिक्षक गरी चारजना रहेको यस विद्यालयमा अन्य शिक्षकहरु ढोरपाटन नगरपालिकाको तर्फबाट करारमा काम गर्दै आएका छन् ।

विद्यार्थी संख्या धेरै भएपनि दरबन्दी थप नहुँदा अध्यापनमासमेत समस्या भएको छ ।