१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सामाजिक सञ्जालको प्रयोग गरेर एक करोड बढी ठगी, सातजना समातिए


0
Shares

काठमाडौं, असार ११ । सामाजिक सञ्जालको प्रयोग गरेर एक करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको भद्रपुर नगरपालिकाका २४ वर्षीय पुकार वर्मा, काभ्रेको सिम्थलीका २२ वर्षीय नवीन भण्डारी, रौतहटको गौर नगरपालिकाका १९ वर्षीय आकाश अग्रवाल र एस अग्रवाल रहेका छन् ।

त्यसैगरी, भारतको पश्चिम चम्पारण, बिहार, सेनवरिया घर भइ काठमाडौं टंकेश्वर बस्ने २२ वर्षीय एमडी सर्फराज, पर्साको वीरगन्जका ३० वर्षीय कृष्णप्रसाद साह र २० वर्षीय सुनील साह रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो ।

उनीहरुले सामाजिक सञ्जाल भाइबर, फेसबुक, ह्वाट्सएप र इमोमार्फत् ५० लाख रुपैयाँ र १० तोला सुन चिट्ठा परेको भन्दै प्रलोभन देखाएर ठगी गरेको पाइएको छ ।

‘महँगो चिट्ठा परेको र उक्त पुरस्कार लिन करवापतको रकम तिर्नू’ भन्दै विभिन्न खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

यो समूहले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको दाबी छ ।

उनीहरुले भारतीय गिरोहसँग मिलेर काम गर्ने गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।