१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


झापामा अब दूरी र मास्कको प्रयोग ‘अनिवार्य’


0
Shares

सुरेन्द्र भण्डारी (इमेज)

झापा, असार ११ । झापामा कोरोना संक्रमण बढ्दो छ । तर, बजारमा आवत–जावत गर्नेको संख्या ह्वातै बढेको छ ।

भिडभाड बढ्दै गएको र मास्कको प्रयोग नगर्नेको संख्यासमेत बढ्दै गएका कारण संक्रमणको जोखिम न्यून गर्न झापामा थप कडाइ गरिएको छ ।

स्थलमार्ग भएर झापाका विभिन्न नाकाबाट भित्रने नेपालीको संख्या दिन–दिनै बढेसँगै कोरोना संक्रमितको संख्यासमेत प्रदेश नम्बर–१ को झापामा तीव्ररुपमा बढ्दै गएको छ ।

झापामा अहिलेसम्म २०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आवत–जावत गर्दा मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि झापामा पछिल्लो समय त्यस्तो देखिँदैन । जसका कारण कोरोना फैलने त्रास बढेको छ ।

खासगरी शिक्षित वर्गले नै अटेरी गर्दै हिँड्डुल गर्न थालेपछि अहिले झापाका विभिन्न चोक तथा बजारमा बिहानैदेखि भिडभाड देखिन्छ ।

भारतको पश्चिम बंगाल र बिहार राज्यसँगको खुला सीमा जोडिएको झापाको विभिन्न गौडाबाट लुकीछिपी भित्रने नेपालीको संख्या एकतर्फ रोकिएको छैन भने अर्काेतर्फ प्रदेशकै धेरै कोरोना संक्रमित यही जिल्लामा छन् ।

तर, कोरोनाबाट बच्ने सावधानीका उपाय अपनाउन छाडेपछि झापामा थप कडाइ गरिएको हो ।

विभिन्न संघ–संस्थाको अगुवाइमा अहिले बिर्तामोडलगायत झापाका विभिन्न पसल तथा मलअगाडि सामाजिक दूरी कायम राख्न एक/एक मिटरको दूरीमा गोलो घेरा बनाउँदै सामान किन्न आउनेलाई अनिवार्य मास्क लगाउन अनुरोध गर्ने अभियान सुरु गरिएको छ । जसमा बिर्तामोड नगरपालिकाकोसमेत सहभागिता रहेको छ ।

पूर्वकै व्यस्त सहरको रुपमा रहेको बिर्तामोडमा सामाजिक दूरी तथा मास्कको प्रयोग नगर्नेको संख्या बढेसँगै जोखिम बढेको भन्दै व्यवसायीहरुसमेत स्वतःस्फूर्तरुपमा सडकमा निस्किएका छन् ।

‘लकडाउन’ खुकुलो भएसँगै मानिसको जमघट बढेकाले यो अवस्थामा भौतिक दूरी, मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, बारम्बार हात नधुने हो भने यसले भयावह अवस्था नआउला भन्न सकिन्न । त्यसैले अहिलेको यो समयमा लकडाउन खुकुलो भएपनि आफैं सजग हुन जरुरी देखिन्छ ।

भिडियो हेर्नुहोस्