३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


भारत–चीन सीमा विवाद शान्तिपूर्ण रुपमा समाधान खोज्न सहमत, गलवानबाट भारतीय सैनिक हट्नु पर्ने चीनको माग


0
Shares

एजेन्सी, असार ११ । चीनले गलवान उपत्यकाबाट भारतीय सैनिक तथा पोस्टहरु हटाउन भारतलाई भनेको छ ।

बुधबार भएको विदेश मन्त्रालय तहको वार्तामा चीनले यो माग राखेको हो । यसअघि जुन ६ र २२ मा भएको सैन्य कमाण्डर तहको वार्तामा पनि चीनले यो माग राखेको थियो ।

यद्यपि, दुबै देशको वर्किङ्ग मेकानिजम फर कन्सलटेशन एण्ड कोअर्डिनेशन अन इन्डिया–चाइना बोर्डर अफिअर्स (डब्लुएमसिसी) को वार्तामा अहिलेको तनाव शान्तिपूर्ण रुपमा समाधान गर्न सहमति पनि बनेको छ ।

डब्लुएमसिसीको बैठकले शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने सहमति गरेको भारत र चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

भारतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘डब्लुएमसिसीको बैठकमा दुबै पक्षबीच सीमा क्षेत्रमा भएको पछिल्लो घटनाक्रमबारे बिस्तारमा छलफल भयो । विशेष गरी पूर्वी लद्दाखको अवस्थाबारे कुरा भयो । भारतले जुन १५ को राति भएको भिडन्तबारे चासो व्यक्त ग¥यो । दुबै पक्षले एलएसीको नियमलाई पूर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दियो ।’

चीनले जारी गरेको वक्तव्यमा शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने सहमति भएको उल्लेख भए पनि एलएसीका सन्दर्भमा भने गलवान उपत्यकाबाट भारतीय सेना हट्नु पर्ने माग गरिएको छ ।
चीन गलवान उपत्यका आफ्नो रहेको दाबी गर्दै आएको छ भने भारतले चीनको दाबी अस्वीकार गर्ने गरेको छ ।