
नवीन सिंह (इमेज)
जनकपुरधाम, जेठ ९ । प्रहरीले जनकपुरधामस्थित विहारकुन्ड मन्दिरमा डकैती गर्न आएका ८ जना भारतीय ‘डाँका’ समूहलाई पक्राउ गरेको छ ।
बुधबार राति पक्राउ परेका ती डाँका समूहलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
विहारकुन्ड मन्दिरका महन्त नारायण शरणदासले जमिन बेचेर रुपैयाँ राखेको खबर पाएपछि भारतीय डाँका समूह जनकपुर आएको थियो ।
डकैती गर्न डाँकाहरु मन्दिरभित्र पस्नै लाग्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिनेक्रममा दुई समूहबीच गोली हानाहानसमेत भएको थियो । प्रहरीले चलाएको गोलीबाट एकजना डाँका घाइते भएका छन् । घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ पर्नेहरुमा भारत, बिहारस्थित गदोपुरका रवि मल्लिक डोम, सिमरी विद्यापति नगरका साहिल रजक, पटौरीका अजितकुमार सिंह, भगवानपुरका सुजितकुमार राय, महोदीनगरका अमितकुमार सिंह, सोही स्थानका अमितकुमार यादव, मधुवनीका रन्जितकुमार भगत र सन्जयकुमार सुमन छन् ।
पक्राउ परेका डाँकाहरुका साथबाट प्रहरीले भारतीय नम्बरप्लेटको स्कुटर एकथान, मोटरसाइकल दुईथान, अमेरिकामा निर्मित पेस्तोल एकथान, कटुवा पेस्तोल एकथान र त्यसमा प्रयोग हुने गोली तथा खुकुरीलगायत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्