
काठमाडौं, जेठ ९ । नेपालमा पाइने र औषधिकारुपमा प्रयोग गर्न मिल्ने ८१९ प्रकारका वनस्पतिमध्ये १० प्रतिशत पनि औषधिकारुपमा प्रयोगमा आउन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बिहीबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उनीहरुले औषधि बनाउन प्रयोग गरिने ९० प्रतिशत वनस्पति कच्चापदार्थकारुपमा विदेश पठाउने गरिएको बताए ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा पाइने वनस्पतिको जगेर्ना गर्दै यसको व्यावसायिक उत्पादनमा जोड दिए ।
उनले विज्ञान प्रविधि ऐन बनाउन लागिएको भन्दै वनस्पतिलाई पनि उक्त ऐनमा समावेश गरिने बताए ।
कार्यक्रममा वनस्पति केन्द्रीय विभाग प्रमुख रामकैलाश यादवले नेपालमा पाइने वनस्पतिको अभिलेख नै नराखिएको र वैज्ञानिकरुपमा अनुसन्धानसमेत हुन नसकेको बताए ।
नेपालमा करिब ७ हजार प्रकारका वनस्पति रहेपनि ६०० प्रकारकामात्र अभिलेख राखिएको छ । सन् १९९९ देखि वनस्पतिको अनुसन्धान गरी अभिलेख राख्न थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्