३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


होटलमा कैदीको मोजमस्तीः केही निलम्बित, अनुसन्धान सुरु (भिडियो)


0
Shares

नवराज छत्कुली, दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)

धादिङ, काठमाडौं, जेठ ९ । जघन्य अपराधमा ११ वर्षको जेल सजाय भुक्तान गरिरहेका धादिङ कारागारका एक कैदी होटलमा मोजमस्ती गरिहेको भिडियोसहितको समाचार सार्वजनिक भएपछि प्रशासन सक्रिय भएको छ ।

कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल ‘एक्सन’ लिएको छ ।

धादिङका एक कैदी कारागारबाहिर होटलमा मोजमस्ती गरिरहेको फेलापरेको भिडियोसहितको समाचार इमेज च्यानलले प्रसारण गरेको थियो ।

कैदीलाई होटलको कोठाभित्र एक महिलासँग राखिदिएर बाहिरबाट ताल्चा लगाइ सादा पोसाकका प्रहरी रक्सी खाँदै बाहिर पहरा दिइरहेका थिए ।

जबर्जस्ती करणीजस्तो जघन्य अपराधमा ११ वर्षको जेल सजाय भुक्तान गरिरहेका रुबीभ्याली गाउँपालिका वडा नम्बर–४, सेर्तुङका प्रेम तामाङ जिल्ला सदरमुकामको होटलमा भेटिएका हुन् ।

यसका साथै समाचारमा कारागारभित्रका कैदीबन्दीलाई चौकीदारहरुले शोषण गरिरहेको तथ्य पनि सार्वजनिक भएको थियो ।

इमेज च्यानलबाट समाचार सार्वजनिक भएलगत्तै कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय धादिङ तत्काल ‘एक्सन’मा आएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले केहीलाई तत्काल निलम्बन गरिएको र छानबिन समिति बनाएर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

प्रशासनले घटनामा संलग्न प्रहरी शुक्रबहादुर गुरुङलाई निलम्बन गरेको छ । यसैगरी, अर्का प्रहरी जितेन्द्र यादवलाई सरुवा गरेको छ ।

यसका साथै जिल्ला कारागार धादिङमा कार्यरत् सातजना प्रहरीजवान र एकजना हवल्दारकोसमेत सरुवा गरिएको कारागारका निमित्त प्रमुख मदनकुमार श्रेष्ठले जानकारी दिए ।

यता, कारागार व्यवस्थापन विभाग काठमाडौं पुगेका हाम्रा संवाददातासँग निर्देशक वासुदेव घिमिरेले इमेज समाचारकै आधारमा छानबिन सुरु गरिएको बताए ।

उनले घटनाको गम्भीर अनुसन्धान गर्ने र संलग्न सबैलाई कारबाही गरिने बताए ।

तर, घटनामा कारागार प्रशासनको संलग्नताको विषय भने गोप्य नै रहेको छ ।

यो घटनाका साथ–साथै कारागारभित्र भइरहेका अन्य सबै क्रियाकलापको अनुसन्धान हुने निर्देशक वासुदेव घिमिरेको भनाइ छ ।

भिडियो हेर्नुहोस्