३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नागरिकता कानुनमा मूठभेड कस्का लागि गर्ने ? : नेकपा सांसद


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा नेपाली कांग्रेसका नेताहरुको अभिव्यक्तिले मुलुकलाई हित नगर्ने चेतावनी दिएका छन् ।

अंगीकृत नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले राजनीतिक दुर्घटना हुने कांग्रेस सांसदहरुले चेतावनी दिएपछि त्यसको प्रतिवाद गर्दै नेकपा सांसद वेदुराम भुसालले धम्कीपूर्ण भाषा प्रयोग नगर्न सचेत गराउनुभयो ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा नेकपा सांसद भुषालले भन्नुभयो, ‘के नेपाल सँधै भारतको चंगुलमा बस्नुपर्छ, त्यसो होइन भने नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा भारतबाट टाढा भएको किन भनिन्छ ? किन चीनतिर ढल्कियो भनिन्छ ?’

आइतबार कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थाले दुर्घटना निम्तने भन्दै नेकपाले नेपाललाई चीनको झोलीमा लैजान खोजेको आरोप लगाउनु भएको थियो ।

भुषालले चीनसँगको हरेक बहसलाई नकारात्मक रुपमा हेरिएकोमा आपत्ति जनाउँदै, ‘कोदारी राजमार्ग बन्दै गर्दा पनि यही कुरा उठाइएको थियो । नेपालमा नाकाबन्दी गर्दा पनि त्यही कुरा उठाइएको हो । आज पनि नेपाललाई त्यतैतिर लैजान खोजिएको हो’ भन्नुभयो ।

राजनीतिक अधिकार बाहेक स्थायी आवासीय अनुमति पत्रमा अरु अधिकार सुनिश्चित गरिने भएकाले यो कानुन बनाउँदा मूठभेड गर्नुपर्ने कुनै कारण नभएको भन्दै भुषालले भन्नुभयो, ‘के भारतसँग जोडिएन ? भारतको छोटे भाइ भएन भनेर मूठभेड गराउन खोज्दै हुनुहुन्छ ? त्यसमा पनि नेपाली हुँ भन्नेहरु नै मूठभेड गराउँछौं, आगो लगाउँछौं भन्नुको कारण मैले बुझेको छैन ।’

भारतमा पनि भारतीय नागरिकसँग बिहे गरेकोे ७ वर्षपछि मात्र नागरिकताका पाउने र अरु देशमा पनि त्यस्तै व्यवस्था रहेको भन्दै सांसद भुसालले यो विरोधको तूक छैन भन्नुभयो ।