काठमाडौं, जेठ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनाको गम्भीर छानबिन गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेसले उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै घटनास्थलमा पार्टीका प्रतिनिधि पठाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र पार्टीको पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई पाँचथरको मिक्लाजुङ पठाएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्तिमार्फत् मृतकको आत्माको चिर शान्तिको कामना तथा शोकमग्न सिंगो गाउँप्रति पार्टीकोतर्फबाट समवेदना प्रकट गरेका छन् ।
नर्सको अनशनप्रति ध्यानाकर्षण
यस्तै, कांग्रेसले पेसागत हक–हित, सुरक्षा एवं न्यूनतम् सेवा–सुविधाको माग राखी गत वैशाख २७ गतेदेखि अनशनरत् नर्सको माग हालसम्म पनि राज्यबाट सम्बोधन नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस संसदीय दलले बुधबार विज्ञप्तिमार्फत् अनशनको १४औं दिन बितिसक्दा पनि अनशनरत् जीता बरालको माग सुनुवाइ नहुनु दुःखद् भएको जनाएको छ ।
अनशनरत् बरालको स्वास्थ्य स्थिति दिनप्रतिदिन बिग्रँदै गएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बरालको जीवनरक्षाको प्रमुख दायित्व राज्यको भएको र यसमा सरकार गम्भीर हुनुपर्ने बताए ।
सरकारी पक्ष र अनशनरत् पक्षबीच यथाशीघ्र वार्ता गरी संवादका माध्यमबाट पेसागत हक–हित र अधिकारसँग सम्बन्धित सबै जायज माग पूरा गर्न उनले सरकारसँग माग गरेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्