
रोमन आचार्य (ईमेज)
काठमाडौं, असार ७ । विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको सात वर्षपछि नागरिकता प्रदान गर्ने पक्षमा उभिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सो प्रावधानको विरोध गर्ने प्रमुख विपक्षी दल नेपाली कांग्रेसको निर्णयप्रति ती दलका महिला नेतृहरुले नै गम्भीर असहमति जनाएका छन् ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानको पक्षमा उभिने भनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकबाट शनिबार भएको निर्णय समावेशी नभएको महिला नेतृहरुले बताएका छन् ।
पार्टीको महिला विभागले नेकपाले निर्णय लिंदा आफ्नो विभागसँग सामान्य परामर्श समेत नगरेको भन्दै आश्चर्य मानेको छ ।
नेकपा स्थायी कमिटि सदस्य अष्टलक्ष्मी शाक्य महिलासँग जोडिएको विषयमा लिइएको निर्णयमा पुरुषवाद हावी भएको ठान्छीन् ।
नेकपाकै महिला सांसदहरु नेकपाले लिएको निर्णय महिलामैत्री नभएको बताइरहेका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा २ वर्षदेखि अड्किएको नागरिकता विधेयकमा महिलाको मुद्दाबारे पर्याप्त छलफल नभएको महिला नेतृहरुको टिप्पणी छ ।
उसो त नेकपाको निर्णयको विरोध गर्ने विपक्षी दल नेपाली कांग्रेसले अंगिकृत नागरिकताका सम्बन्धमा लिएको निर्णयको विपक्षमा देखिएको छ, पार्टीकै भातृ संगठन नेपाल महिला संघ ।
तराईका केही सांसदको प्रभावमा परेर कांग्रेस अंगिकृत नागरिकताका सम्बन्धमा विद्यमान व्यवस्थाकै पक्षमा उभिएको ठहर गर्दै नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी पार्टी निर्णय गलत भएको बताउछीन् ।
नेकपा र कांग्रेसको अडानका कारण संसदीय समितिमा अलमलिएको नागरिकता विधेयकमा दलिय सहमति जुट्ने सम्भावना क्षीण छ ।
यही बेला महिला नेतृहरुले समेत माउ पार्टीको निर्णयको खुलेरै विरोध गरेबाट विधेयकमा राखिएको महिलालाई नागरिकता प्रदान गर्ने सम्बन्धि प्रावधान झन विवादित बन्ने सम्भावना बढेर गएको छ ।
प्रतिक्रिया दिनुहोस्