
कञ्चनपुर, चैत २३ । हात्तीको आतंकबाट लामो समयदेखि मारमा पर्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका बासिन्दा आजभोली खुसी भएका छन् ।
सधै बाली भित्र्याउने समयमा भारतीय जंगलबाट आउने हात्तीबाट आतंकित बन्ने उनीहरु यसपालि भने हात्तीको आतंक कम भएकाले बाली भित्र्याउन पाएकोमा हर्षित भएका हुन् । कञ्चनपुरमा यसअघि धानबाली र गहुं बाली तयार भएसंगै हात्तीको बथान गांउ प्रवेश गर्ने र आतंक मच्चाउने गर्थे ।
तर, यसपाली सो बस्तीमा सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाले ४ थान साइरन र २१ थान सर्चलाइट वितरण गरेपछि हात्तीहरु कम आउने गरेको पीडित बताउंछन् ।
साईरनको आवाज र सर्चलाईटको उज्यालोको कारणले हात्तीको बथान बस्तीमा आउन कम भएको छ । अधिकांश दलित बस्ती रहेको बडुवाल टोलमा झण्डै १ सय ३५ घरपरिवार छन् ।
जसमध्ये अधिकांश घरमा महिला र बालवालिका मात्र रहेका छन् । रोजगारीका लागि सो गाउंका पुरुषहरु भारत जाने गरेकाले यसअघि घरमा रहेका महिलाहरुलाई बालबच्चा र आफ्नै ज्यान जोगाउन समेत निकै गाह्रो हुने गरेको थियो
वर्षौदेखि जंगली हात्तिले आतंक मच्चाउंदै आएको बडुवाल टोलमा विद्युत प्राधिकरणले एकवर्ष अघि नै पोल तथा तार जोडेपनी हालसम्म विजुली दिएको छैन ।
सर्चलाइट र साईरनको भरमै बसेका उनीहरु बिजुली बत्तिको जडान गरेपछि हात्ती आतंकबाट पुरै मुक्ति पाईन्थ्यो की भन्ने आसामा छन् । जंगली हात्तीकै कारण गतवर्ष कञ्चनपुरमा २ जनाको ज्यान गएको थियो भने २ जना गम्भिर घाइते भएका थिए ।
यस्तै, हात्तीले १ सय ६८ जनाको घरटहरा र बालिनाली नष्ट गरेको थियो । तर, पीडितहरुले भने नत बेलैमा क्षतिपूर्ति पाउन सकेका छन्, नत जीउ धनको सुरक्षा नै पाउन सकेका छन् । हात्तीको बढि आतंक हुने क्षेत्रमा हात्ती आतंक रोक्न सरकारी तवरबाटै पहलको आवश्यकता छ ।
प्रतिक्रिया दिनुहोस्