२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


गड्डाचौकी सीमा नाकामा घुईंचो बढ्यो, नेपालीहरु धमाधम फर्किदैं


0
Shares

कञ्चनपुर, चैत २९ । रोजगारीका लागि भारत गएका नेपालीहरु नयाँ वर्ष मनाउन घर फर्किन थालेपछि अहिले पश्चिमी सीमा नाका गड्डाचौकीमा घुईंचो लागेको छ ।

बर्खे तथा हिउँदे बाली लगाएर खाली समयमा मजदुरी गर्न भारत जाने गरेकामध्ये तथा सुदूरपश्चिमलगायतका विभिन्न क्षेत्रमा बस्ने नेपाली नयाँ वर्ष मनाउन घर फर्किरहेका हुन् ।

यसरी फर्किएकाहरुले सीमा क्षेत्रमा ठगिने गरेको गुनासो गरेका छन् । नेपालको पश्चिम सीमानामा रहेको बनबासा पुल पारी रहेका भारतीय प्रहरी तथा भन्सारका कर्मचारीले प्रत्येक नेपालीबाट विभिन्न बहाना बनाएर ठग्ने गरेको उनीहरुको गुनासो छ ।

भारतीय प्रहरी तथा भन्सारले घर फर्किने नेपालीलाई दुःख दिने गरेको गुनासो आउने भएकाले त्यसबारे भारतीय पक्षसँग कुरा गरे पनि त्यसको सकारात्मक परिणाम नआएको कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी बताउँछन् ।

सुदुर पश्चिममा हरेक वर्ष बैशाख १ गतेलाई विशु पर्वका रुपमा समेत धुमधामका साथ मनाउने गरिन्छ । विशु पर्व मनाउन घरबाट बाहिर रहेका दाजुभाई तथा दिदीबहिनी फर्किने र रमाइलो साथ नयाँ वर्ष मनाउने चलन छ ।