
बाग्लुङ, वैशाख ११ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले लोकतन्त्र दिवससमेत नमनाएर मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गराउन खोजेको आरोप लगाएका छन् ।
भूपू सैनिक संघ बाग्लुङको जिल्ला अधिवेशनलाई शनिबार बाग्लुङको बरेंगमा सम्बोधन गर्दै उनले लोकतन्त्र दिवसलाई बेवास्ता गरेर वर्तमान सरकारले ०६२/६३ को जनआन्दोलनलाई उपेक्षा गरेको बताए ।
उनले यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिए ।
अर्को एक प्रसंगमा डा. कोइरालाले यो सरकार इतिहासकै असफल भएको बताए ।
‘हाम्रा प्रधानमन्त्री लाजै नमानी महंगी र कालोबजारी रोक्न सकिएन भन्नुहुन्छ । मन्त्रीहरूले काम गरेनन् भन्नुहुन्छ । यदि प्रधानमन्त्रीले काम गर्न नसकेको हो भने आजै सरकार छाडिदिए हुन्छ । सक्नेले सरकार चलाउँछ, मुलुकलाई बर्बादीतिर लैजाने अधिकार कसैलाई छैन’–उनले भने ।
उग्रराष्ट्रवाद र उग्रमधेसवादले मुलुकलाई ध्वस्तपार्ने खतरा रहेको भन्दै उनले भारतीय चस्माले तराई–मधेसलाई नहेर्न सरकारलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्