
काठमाडौं, बैशाख १३ । भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमूना वस्ती बनाउन गैरआवासीय नेपाली संघ र सरकारबीच सम्झौता भएको छ ।
आइतबार लाप्राक गाउँमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधीकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार गैरआवासीय नेपाली संघले लाप्राकको साविक अस्थायी वस्ती रहेको स्थानमा एकीकृत वस्ती विकास गर्नेछ ।
आगामी बर्षात् अगाडि नै निर्माण कार्य थालेर आगामी हिउँदसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बताए ।
लाप्राकमा ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्याङ्क रहेको छ । पुरानो वस्ती रहेको ठाउँ प्राविधिक हिसावले वस्ती राख्न उचित नभएपछि सो वस्तीको केही माथि हाल अस्थायी टहरा रहेको गुम्सी पाखा डाँडामा ३२६ रोपनी क्षेत्रफलमा नयाँ वस्ती विकास गरिने भएको हो ।
गैरआवासीय नेपाली संघले करिब ३५ करोड रुपैयाँको लागतमा एक हजार घर निर्माण गर्ने घोषणा गरेकोमा सरकारले पहिलो चरणमा लाप्राकलाई नमुना वस्ती बनाउन स्वीकृति प्रदान गरेको हो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मिहिनेत र परिश्रम गरेर दुःखलाई सुखमा बदल्नुपर्ने बताइन । आफ्नो देश आफैले बनाउनुपर्छ भन्दै उनले सबै युवालाई पुनर्निर्माण अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरिन् ।
प्रतिक्रिया दिनुहोस्