२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


डोटीमा भारतीय नागरिक मृत फेला


0
Shares

डोटी, वैशाख १३ । डोटीको कुलपाते भन्ने स्थानमा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृतक भारतको हिमाञ्चल प्रदेशको काँकडा भन्ने जिल्लाको रहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रहरी नायब निरीक्षक भीमबहादुर मल्लले जानकारी दिए । जगदीश नाम गरेका ती व्यक्ति डोटीमा खोटो सङ्कलन गरिरहेको भद्रकाली रोजीन कम्पनीमा कार्यरत रहेका थिए । प्रहरीले दिएको जानकारीअनुसार मृतक जगदीश दीपायलमा रहेको ट्राफिक प्रहरी कार्यालयको घरसँगै जोडिएको घरमा बसेका थिए । राति पिसाब गर्न भनी बाहिर आएकै अवस्थामा जङ्गली जनावरले आक्रमण गरी मारेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

मृतकको प्रकृति हेर्दा बाघले आक्रमण गरेजस्तै रहेको प्रहरी नायब निरीक्षक मल्लको भनाइ रहेको छ । सँगै घरमा बसेका ट्राफिक प्रहरी हवल्दार इन्द्रराज बोहराले आज बिहानै जगदीशलाई मृत अवस्थामा भेटेपछि इलाका प्रहरी कार्यालय दीपायललाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याइने तयारी गरिएको छ ।

परीक्षणपछि मृतक जगदीशसँगै काम गरिरहेका आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । (रासस)