
काठमाडौं, वैशाख १४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका हिमाल खबर पत्रिकाका प्रकाशक एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसँग भेट गरेका छन् ।
पूर्वराष्ट्रपति यादव मंगलबार आफ्नो स्वास्थ्यको नियमित उपचार गराउन वीर अस्पताल पुगेका बेलामा सोही अस्पतालको आइसीयुकक्षमा उपचाररत् दीक्षितसँग भेट गरेका हुन् ।
भेटकाक्रममा पूर्वराष्ट्रपति यादवले दीक्षितको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।
अख्तियारको नियन्त्रणमा रहेका दीक्षितको स्वास्थ्य खराब भएपछि ११ गतेदेखि आइसीयुमा राखिएको छ ।
आइसीयुमा राखिएका दीक्षितसँग पूर्वराष्ट्रपति यादवले करिब २० मिनेट कुराकानी गरेका थिए । भेटमा स्वास्थ्य स्थितिकोबारेमामात्र कुरा भएको जनाइएको छ ।
सोहीक्रममा दीक्षितले त्यहाँ पुगेको सीमित सन्चारकर्मीसँग अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रतिशोध साँधेको भन्दै आफू कानुनी उपचारको बाटोमा जाने बताए ।
उनले नागरिक समाजलाई कमजोर बनाउन यो खेल सुरु भएको टिप्पणी गरे ।
दीक्षितको मंगलबारको रक्तचाप १५७ बाइ ११६ रहेकाले चिकित्सकहरुले पूर्णआराम गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्