गोरखा, वैशाख १४ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दू गोरखा, बारपाकको नवनिर्माण र समग्र विकासका लागि सामूहिक प्रतिबद्धतासहित ‘बारपाक घोषणापत्र’ सार्वजनिक गरिएको छ ।
जिल्ला विकास समिति, पत्रकार महासंघ गोरखा, ‘अक्सफाम्’, ‘हामी’लगायत संघ–संस्थाले बारपाकमा सम्मेलन गरी ११ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
सम्मेलनले बारपाकलाई नमूना बस्तीकोरुपमा विकास गर्न पर्याप्त तयारीकासाथ तत्कालै गुरुयोजना ल्याउनुपर्नेमा जोड दिएको छ ।
अधिकांश स्थानीय बासिन्दाले आफ्नै ढंगले घर निर्माण गरेका कारण नमूना बस्ती विकासमा कठीनाइ हुनसक्ने भन्दै सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ ।
सम्मेलनमा संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले बारपाकलाई भूकम्पको विषयमा अध्ययन गर्ने मुख्य थलोकोरुपमा विकास गर्नुपर्ने धारणा राखे ।
गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बारपाकलगायत समग्र गोरखा जिल्लाको पुनःनिर्माणका लागि जिल्ला विकास समितिले विस्तृत अध्ययन सकेर बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिए ।
अक्सफामका दीगो विकास कार्यक्रम निर्देशक विमल गदालले बारपाकलगायत समग्र भूकम्प प्रभावित क्षेत्रको विकासका लागि सरकारलाई आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा भूकम्पपीडित बारपाकका स्थानीय बासिन्दाले बिना झन्झट घर निर्माणका लागि रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्