
-ध्रुव भट्टराई, ईमेज
विराटनगर, बैशाख १५ । पूर्वाञ्चलमा प्रत्येक वर्ष सडक दुर्घटनामा बृद्धि भइरहेको छ । दैनिक ४ देखि ६ वटा सडक दुर्घटनामा कम्तिमा २ जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । जसमा ६० प्रतिशत दुर्घटना छाडा चौपायले हुने गरेको छ ।
पूर्वी नेपालका सडकहरुमा छाडा चौपायाका कारण सडक दुर्घटना बढेको हो । पूर्वाञ्चलमा पांच वर्षको अवधीमा भएको ८ हजार १ सय ३० वटा सवारी दुघर्टनामा परी १ हजार ६ सय ६२ जना सर्वसाधारणले ज्यान गुमाएका छन् ।
जसमा दुर्घटनाका ६० प्रतिशत कारण भने छाडा चौपाया नै रहेको देखिएको छ । मोरङ र झापाका स्थानीय जंगलमा छोडिएका छाडा चौपायका कारण सडक दुर्घटना ह्वातै वढेको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी उपरीक्षक पवनकुमार गिरी बताउँछन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रत्येक वर्ष सवारी दुर्घटनामा २० देखि ३० प्रतिशत सर्वसाधारणले ज्यान गुमाउने गरेको देखिन्छ ।
मोरङको वेलवारीदेखि उर्लावारी तथा झापाको दमकदेखि चारपाने क्षेत्रको सडकमा छाडा चौपायाका कारण विहान र वेलुकाको समयमा सडक दुर्घटना बढी हुने गरेको छ । सडकमा जताततै छाडा चौपाय छाड्ने कारण सवारी गुडाउन पनि समस्या हुने सवारी चालक बताउंछन् ।
छाडा पशु चौपायाहरुको व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र समेत दुर्गन्धित बन्दै गएको छ । छाडा पशुहरु चौबिसै घण्टा बथानका बथान आहारा खोज्दै बजारमा समेत आउंदा राजमार्गको साथै बजार क्षेत्र समेत दुर्गन्धित बन्दै गएको हो ।
बजारको सडक सुरक्षाका साथै फोहोर व्यवस्थापनमा समेत चुनौती थपिएको छ । पूर्वाञ्चलमा दैनिक ४ देखि ६ वटा ठुला सवारी दुर्घटनामा हुने गरेको छ । जसमा कम्तिमा ७ जना अंगभंग हुने गरेका छन् ।
पूर्वाञ्चलमा कुल १ हजार २ सय ५६ किलो मिटर कालोपत्रे सडक, ३ हजार ५ सय ३३ किलो मिटर कच्ची सडक र ६ हजार ५ सय ४० किलो मिटर ग्राभेल सडक रहेको छ ।
पूर्वाञ्चलमा मेची, कोशी र सगरमाथा अञ्चल कार्यालयमा दर्ता भएका ३ लाख ८४ हजार ९ सय ६० सवारी साधान रहेका छन् भने अनेत्र दर्ता गरिएका थप २ लाख सवारी साधन पूर्वाञ्चलका सडकमा गुड्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्