Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बलात्कारको अभियोगमा तीनजना पक्राउ


0
Shares

भक्तपुर, जेठ १ । एकैसाता तीन किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीनजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

१५ वर्षीया किशोरीलाई डर–धम्की दिइ पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा, पदमपुर घर भइ हाल भक्तपुर नगरपालिका–२, सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको छ ।

गत वैशाख २८ गते सर्लाही, हरिवन नगरपालिका–११ घर भइ हाल सल्लाघारी बस्ने ती बालिकालाई पटक–पटक बलात्कार गरेको अभियोगमा पीडित किशोरीकी आमाले जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, सूर्यविनायक नगरपालिका–९, नंखेलको सिटीगाउँ होटलमा गत वैशाख २७ गते लगेर डर–धम्की दिइ १५ वर्षीया अर्की किशोरीलाई बलात्कार गरेको अभियोगमा बर्दिया, बैदी नगरपालिका–१० घर भइ हाल चाँगुनारायण नगरपालिका–१, दुवाकोट बस्ने २० वर्षीय आशिष चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

किशोरीकी आमाले किटानी जाहेरी दिएपछि पक्राउ गरेको उनले जानकारी दिए ।

यसैगरी, सिन्धुपाल्चोक, चौतारा गाउँपालिका–९ घर भइ हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका–४ घर भइ हाल मध्यपुरथिमि नगरपालिका–९, बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनैजनालाई नै हिरासतमा राखेर जबर्जस्ती करणीको अभियोगमा मुद्दा दायर गरी आवश्यक अनुसन्धान अगाडि बढाएको बताए । रासस