नुवाकोट, बैशाख १७ । गत वर्ष बैशाख १२ गतेको भूकम्पले ध्वस्त बनाएको नुवाकोटको तारुकास्थित हस्तीकेशर प्राथमिक विद्यालय बेलायती नागरिकले बनाइदिएका छन् ।
तारुका गाविसको वडा नम्बर ७ तेर्सेपानीमा रहेको विद्यालय बेलायती नागरिकद्वय टोनी आडेन तथा सान्द्रा आडेनले आफ्नै लगानीमा निर्माण गरिदिएका हुन् ।
चार कोठे पक्की भवन निर्माणका लागि करीब ४२ लाख रुपैयाँ खर्च भएको विद्यालय निर्माण समितिका संयोजक एवं पर्यटन व्यवसायी मोहन लम्सालले जानकारी दिए ।
चार कोठे पक्की भवनका साथै विद्यालय हाताभित्रै आधुनिक शौचालय र स्नान गृहसमेत बनाइएको छ ।
भूकम्पले विद्यालय भवन भत्काई दिएपछि १ सय २७ जना विद्यार्थी टिनको अस्थायी टहरोमा बस्न बाध्य थिए ।
तारुकाका विभिन्न वडामा विदेशीले बनाईदिएका तीन वटा पक्की विद्यालय भवन स्थानीयलाई हस्तान्तरण गरिसकिएको स्थानीय शिव अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्