२ असार २०८२, सोमबार | Mon Jun 16 2025


देशभर बढेको प्रचण्ड गर्मी र खडेरीले जनजीवन अस्तव्यस्त


0
Shares

काठमाडौं, बैशाख १८ । मुलुकभर बढेको प्रचण्ड गर्मीसहितको धूपले आम सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ ।

लामो समयदेखि पानी नपरेर चरम खडेरी परेपछि हिमाल, पहाड, तराई सबैतिरको जनजीवन अस्तव्यस्त बन्न थालेको हो ।

गत वर्ष वैशाखको भूकम्प र त्यसपछिको लामो नाकाबन्दीको मारबाट उम्कन नपाउँदै देशभरका नेपाली बढ्दो सुख्खा र खडेरीको चपेटमा परेका हुन् ।

गएका वर्षहरुको वर्षात्मा ठूलो पानी नपरेकाले मूल नफुटेको तथा यस हिउँदमा पनि पर्नुपर्ने जति पानी नआएकाले पानीका स्रोतहरु सुक्दै गएका छन् ।

पानीको अभावमा राजधानी काठमाडौंदेखि देशभरका उँचो स्थानका वस्तीहरुमा पानीको हाहाकार भैसकेको छ । खानेपानी कै जाहो गर्न पनि मानिसहरुलाई कठीन भैसकेको छ ।

वस्तुभाउदेखि चराचुरुंगीसमेत पानीको अभावमा प्रभावित हुन थालेका छन् । बढ्दो गर्मीले सुख्खा लाग्दा देशका सबैजसो क्षेत्रमा आगलागीको खतरा भएको छ ।

धेरैजसो जंगल डडेलोले खाइसकेको छ भने वस्ती र शहरहरुमा आगलागी हुँदा जनधनको ठूलो क्षतिका खबर आइरहेका छन् ।

गर्मीको धेरै असर समग्र तराईमा देखिएको छ । पूर्वदेखि पश्चिमसम्मका तराईका सबैजसो जिल्लामा तापक्रमको पारोले ४० डिग्री नाघेको छ । यसरी अकाशिएको प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ ।

गर्मी बढेसँगै चलेको तातो हावा लू, हुरी, धुलोले ग्रामीण बस्तीमा आगलागीको जोखिम उच्च भएको हो ।

तातो हावा हुरीकै कारण आँप, हरियो तरकारी खेती प्रभावित भएको छ । किसानले खेतबारीमा लगाएका विभिन्न बाली जमीनमै सुक्न थालेका छन् । काम गरेरै जीवन गुजारा गर्नुपर्ने कामदार वर्गको दैनिकी त चौपट भैसकेको छ ।

तातो हावा चलेकाले दिउँसो घर बाहिर हिँडडुल गर्न गाह्रो भएको छ । गाउँ बजारहरु सुनसान छन् । तापक्रम बढ्दा बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

वैशाखको दोस्रो सातामै गर्मीको पारो ४० डिग्रीभन्दा माथि चढेकाले आउने केही साता अझै गर्मी बढ्ने डर छ । प्रचण्ड गर्मीको मारमा विद्यालय जाने विद्यार्थीहरु उत्तिकै पर्न थालेका छन् ।