१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


उच्चमावि नपढेको व्यक्ति पत्रकार बन्न नपाउने प्रस्ताव


0
Shares

चितवन, वैशाख २० । नेपाल पत्रकार महासंघले एसएलसीमात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ ।

मंगलबारदेखि चितवनको रत्ननगरमा हुन लागेकोे विधानसभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासंघले जनाएको छ ।

महासंघले सभासदलाई अध्ययनका लागि दिएको उक्त विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सोसरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको छ ।

यसअघिको विधानमा एसएलसी गरेर मापदन्ड पुगेका पत्रकार बन्न पाउने प्रावधान थियो ।

पत्रकार महासंघको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए ।

महासंघको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेअनुरुप फागुन १९ मा सभासद र सदस्यबाट आएको सुझाव समेटेर चैत १५ मा उक्त प्रस्ताव पारित गरिएको हो ।

यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसन्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ ।

प्रस्तावमा कार्यकारिणीसभालाई केन्द्रीयसभा बनाउने, सभासदलाई केन्द्रीय सभासद र प्रदेशसभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ ।

भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भएपनि महासंघले १० ओटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । यसमा सातओटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पुर्‍याउने योजना छ ।

यस्तै, केन्द्रीयसभामा चयन हुने सभासद यसअघि १० बराबर १ रहेकामा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ ।

यसैबीच, महासंघको साधारणसभाका लागि केन्द्रीय समितिको टोली आइतबार साँझ रत्ननगर आइपुगेको छ । साधारणसभामा एक हजार ६५१ सदस्य सहभागी हुनेछन् ।

हाल महासंघका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको संख्या १० हजारभन्दा माथि छ । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने महासंघले जनाएको छ ।

स्थानीय तहको तयारी लगभग पूरा भएको चितवन शाखाका अध्यक्ष हरि पोखरेलले जानकारी दिए । रासस