Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पुस्तक नपाएपछि जनकशिक्षा मै ट्रक तेर्स्याएर विरोध


0
Shares

भक्तपुर, वैशाख २२ । शैक्षिक सत्र शुरु भइसक्दा पनि विद्यालयका पाठ्यपुस्तक उपलब्ध नभएको भन्दै धादिङका पुस्तक तथा स्टेशनरी व्यवसायीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिडेटमा ट्रक तेर्स्याएर विरोध जनाएका छन् ।

आवश्यक रकम तिरेर कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक लिन जनक शिक्षाको छापाखाना पुगेका व्यवसायीहरुले केन्द्रले सबै विषयका पुस्तक उपलब्ध नगराएको भन्दै विरोधमा केन्द्रको मूल गेट अगाडि ट्रक तेर्स्याएर बाटो अवरुद्ध गरेका हुन् ।

आफूहरु आवश्यक रकम तिरेर पुस्तक लिन ट्रक लिएर केन्द्र पुगेको भए पनि केन्द्रले आवश्यक पर्ने पुस्तक दिन आनाकानी गरेका कारण सांकेतिक विरोध गरेको व्यवसायीहरुले बताएका छन् ।

नेपाल पुस्तक तथा व्यवसायी स्टेसनरी व्यवसायी महासंघका धादिङका सल्लाहकार नारायण श्रेष्ठका अनुसार गत बैशाख ५ गतेदेखि शैक्षिक सत्र शुरु भईसके पनि अहिलेसम्म धादिङका कुनै पनि सरकारी विद्यालयमा कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक पुग्न सकेको छैन ।

तर जनक शिक्षा सामग्री केन्द्रले भने व्यवसायीहरुले बैंकमार्फत् रकम तिरेको र त्यसको आधिकारिकता छानबिनका लागि समय लागेकाले समय लागेको बताएको छ । रकम तिरेको विषयमा बैंकबाट आधिकारिक जानकारी आएपछि आफूहरु आवश्यक सबै पुस्तक दिन तयार रहेको केन्द्रका प्रशासन प्रमुख कृष्णबहादुर कटवालले जानकारी दिए ।

प्रशासन प्रमुख कटवालले केन्द्रले देशभर आवश्यक पाठ्यपुस्तक उपलब्ध गराईरहेको भन्दै पाठ्यपुस्तक आवश्यक परेका पहाडी जिल्लामा बढीमा ४ दिन र तराईका जिल्लामा २ दिनभित्र सबै पुस्तक पुर्‍याउन आफूहरु आफूहरु तयार रहेको बताए ।