Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


अमेरिका र चीनबीचको व्यापार युद्ध थप चर्कियो


0
Shares

वासिंटन, वैशाख ३१ । अमेरिका र चीनबीचको व्यापार युद्ध थप चर्किएको छ । अमेरिकाले चिनियाँ सामानमा थप कर वृद्धि गरेपछि चीन पनि प्रतिकारमा उत्रिएको छ ।

अमेरिकाले २ खर्ब डलर बराबरका चिनियाँ सामानमा कर वृद्धि गरेको तीन दिनपछि नै चीनले पनि ६० अर्ब डलरबराबरका अमेरिकी सामानमा कर वृद्धिको घोषणा गरेको हो । चीनले आगामी जुन १ देखि लागू हुने गरी ती सामानको भन्सार वृद्धि गर्ने घोषणा गरेको हो । यसले अमेरिकासहित युरोपेली मुलुकको शेयर बजारमा समेत प्रभाव परेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन आग्रह गरेका छन् ।

वासिंटनले दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशतसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिनुले दई देशबीचको सम्बन्धमा समस्या आउनसक्ने उनले चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्वीटरमार्फत चीनले कर वृद्धिको प्रतिकार गर्न नहुने र यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने उल्लेख गरेका छन् ।

यस्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुयाङले बाह्य हस्तक्षेपबाट आफ्नो मुलुक प्रभावित नहुने बताएका छन् ।

अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो । करवृद्धिका बाबजुद चीन र अमेरिकाबीच व्यापारसम्बन्धमा गत बर्षदेखि देखिएको तनाब अन्त्य गर्न केही महिना यता वार्ता चलिरहेको छ र वार्ताले निरन्तरता पाउने दुवै पक्षले बताउँदै आएका छन् । (एजेन्सी)