
काठमाडौं, वैशाख २२ । एकीकृत नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा विहीबार (भोलि)मात्र निर्णय गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास बालुवाटारमा बुधबार साँझ बसेको स्थायी कमिटीको बैठकले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेसँग अन्तिम छलफल गरेरमात्र समर्थन फिर्ता लिने या नलिने भन्ने टुंगो लगाउने निर्णय गरेको हो ।
बैठकले आफूहरुले राख्दै आएका पुनःनिर्माणको कामलाई गति दिने, शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउनेलगायतका मागलाई पूरा गराउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
प्रधानमन्त्रीले माग पूरा नगरे आफ्नै नेतृत्वमा सहमतिको सरकार गठनको विषयमासमेत छलफल हुने उनले जानकारी दिए ।
यसअघि, बुधबारै बिहान बसेको एमाओवादी पदाधिकारी बैठकले अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको थियो ।
दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले अध्यक्ष दाहालको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, मधेसी दललगायत सबै दललाई एकीकृत माओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपिलसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्