
काठमाडौं, वैशाख २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुटनीतिक अभ्यास विपरीत आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छन् ।
सरकारले औपचारिक घोषणा गर्नु अगावै राष्ट्रपति भण्डारीले वैशाख २७ गतेबाट हुने आफ्नो भारत भ्रमणबारे सार्वजनिक गरेकी हुन् ।
शीतल निवासमा बुधबार केही पत्रकार माझ उनले आफ्नो भ्रमण नेपाल–भारतबीचको आपसी सम्बन्ध सुदृढ गर्न र असमझदारी हटाउन केन्द्रित हुने बताइन् । त्यतिमात्र होइन, भ्रमणले दुई देशबीचको सद्भाव बढाउने दाबीसमेत गरिन् ।
‘मेरो भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउनु र असमझदारी हटाउनु हो,’ उनले भनिन्, ‘यही उद्देश्यअनुसार भ्रमण तयारी भइरहेको छ । भ्रमणको औपचारिक निर्णय र घोषणा हुन भने बाँकी छ ।’
राष्ट्रप्रमुख र सरकार प्रमुखले गर्ने विदेश भ्रमणको सम्बन्धित देशका सरकारले औपाचारिक घोषणा गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । यस्तो भ्रमणको दुबै देशले आपसी समझदारीमा मिति तय गरेपछि त्यसलाई मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने हुन्छ ।
त्यसपछि मात्र सरकारले राष्ट्रप्रमुख तथा सरकार प्रमुखको आधिकारिक भ्रमण घोषणा गर्छ । तर राष्ट्रपति आसन्न भारत भ्रमण सम्बन्धमा भने सरकारले औपचारिक निर्णय गरिसकेको छैन । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्